काठमाडौं ।
अबदेखि गाडी दर्ता तथा नामसारी गर्नका लागि यातायात व्यवस्था कार्यालय अनिवार्य रूपमा जान नपर्ने भएको छ। सरकारले पुराना नियमहरुमा संसोधन गर्दै हरेक पटक कार्यालयमा गएर गाडी चेकजाँच गर्न नगर्नुपर्ने व्यवस्था लागू गरेको छ।
यातायात व्यवस्था पूर्वधार विकास मन्त्रालयले नयाँ तथा पुराना सवारी साधनहरूको खरिदमा खरिदकर्ताहरू यातायात व्यवस्था कार्यालय अनिवार्य रूपमा जान नपर्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा केही प्रावधानहरू संशोधन गरिएको जनाएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार अबदेखि निजी तथा सार्वजनिक सवारी साधनहरु दर्ताका बखत प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेकजाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेकजाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु बिक्री गर्ने डिलरहरूले सवारी साधन खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी साधन खरिदकर्तासँग वारेसनामा, वारेसनामा दिइएको व्यक्तिको नेपाल सरकारबाट जारी भएको सक्कल परिचय पत्र, खरिदकर्ताको फोटो र सक्कल परिचय पत्रसँगै वारेसनामा प्राप्त व्यक्ति यातायात व्यवस्था कार्यालय उपस्थित भएमा पनि दर्ता तथा नामसारीको कार्य सम्पन्न गराउन सकिने व्यवस्था गरिएको छ।
नयाँ संशोधनले सवारी साधनहरुको बीमा गर्न वा बीमा नवीकरण गर्न यातायात व्यवस्था कार्यालयमा सवारी धनी उपस्थित नभए पनि हुने व्यवस्था गरेको छ।
यसैगरी, सरकारले निजी तथा सार्वजनिक सवारी साधनहरुको नामसारी गर्दा विभागद्वारा भीआरएस प्रणालीमा प्राविधिक व्यवस्था गरिएको सूचना जारी भएपछि सवारी विक्रेता, वितरक वा कम्पनीले भीआरएस प्रणालीसँग आबद्ध गर्न मिल्ने पूर्वाधारहरूको व्यवस्था गरी यातायात व्यवस्था कार्यालयसँग माग गर्नुपर्ने र यातायात व्यवस्था कार्यालयले एकद्वार पहुँच हुने गरी बायोमेट्रिक लिन मिल्ने तवरले सम्बन्धित सवारी विक्रेता, वितरक वा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने नियम जारी गरेको छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार