काठमाडौं ।
एप्पलले पहिलो पटक टचस्क्रिनसहितको ल्यापटपका रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको लामो समयदेखि चर्चामा रहेको ओएलईडी म्याकबुक प्रो हालको मोडलभन्दा धेरै पातलो नहुन सक्ने ब्लुमबर्गका मार्क गुरम्यानले बताएका छन्।
यसअघि आफ्नै अनुमानमा नयाँ म्याकबुक प्रो धेरै पातलो हुने बताएका गुरम्यानले अहिले आफ्नो धारणा परिवर्तन गर्दै अन्तिममा यो उल्लेखनीय रूपमा पातलो नहुने बताएका छन्।
हालको १४ इन्चको म्याकबुक प्रोको मोटाइ १५.५ मिलिमिटर र तौल १.५५ देखि १.६२ किलोग्रामसम्म छ। त्यस्तै, १६ इन्चको मोडलको मोटाइ १६.८ मिलिमिटर र तौल २.१४ देखि २.१५ किलोग्रामसम्म छ। त्यसैले नयाँ मोडललाई हलुका र केही पातलो बनाउने सम्भावना भने रहेको छ।
केही दिनअघि गुरम्यानले एप्पलले ओएलईडी टचस्क्रिनसहितका १४ इन्च र १६ इन्चका म्याकबुक प्रो आगामी नोभेम्बरमा सार्वजनिक गर्ने बताएका थिए। ती ल्यापटपमा एप्पलका एम६ सिरिजका चिप प्रयोग हुने र म्याकओएस २७.२ पहिले नै इन्स्टल गरिएको अवस्थामा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ आश्विन २०८३, शनिबार