काठमाडौं ।
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले सन् २०२६ को तेस्रो त्रैमासिकमा ८० अर्ब अमेरिकी डलर सञ्चालन नाफा कमाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा बढ्दो लगानीसँगै मेमोरी चिपको माग बढ्दा कम्पनीको नाफा एक वर्षमै झन्डै नौ गुणा बढेको हो।
कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म सामसङको सञ्चालन नाफा १०७.४० ट्रिलियन कोरियन वोन पुगेको छ। यस अवधिमा कम्पनीको कुल बिक्री १९५ ट्रिलियन वोन अर्थात् करिब १४५.३३ अर्ब अमेरिकी डलर रहेको छ।
जीएसएमएरिनाका अनुसार सन् २०२५ को सोही अवधिमा सामसङले १२.१७ ट्रिलियन वोन सञ्चालन नाफा र ८६.०६ ट्रिलियन वोन बिक्री गरेको थियो। यससँग तुलना गर्दा कम्पनीको सञ्चालन नाफा करिब ७.८ गुणा र बिक्री दोब्बरभन्दा बढी भएको छ।
यसअघि सन् २०२६ को दोस्रो त्रैमासिकमा सामसङको सञ्चालन नाफा ८९.४९ ट्रिलियन वोन र बिक्री १७१.५ ट्रिलियन वोन थियो। दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा सञ्चालन नाफा करिब २० प्रतिशत र बिक्री करिब १४ प्रतिशत बढेको देखिन्छ।
एआईसम्बन्धी पूर्वाधार विस्तारसँगै उच्च क्षमताका मेमोरी चिपको माग बढ्नु सामसङको नाफा वृद्धिको प्रमुख कारण बनेको छ। एआई सर्भरमा प्रयोग हुने मेमोरी चिपको मागले सेमिकन्डक्टर व्यवसायलाई बल दिएको छ।
तर, चिप व्यवसायमा भएको नाफा वृद्धिको बीचमा सामसङको स्मार्टफोन व्यवसाय भने लागत वृद्धिको दबाबमा परेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यमको रिपोर्टअनुसार कम्पनीको मोबाइल एक्सपेरियन्स (एमएक्स) डिभिजनले सन् २०२६ को चौथो त्रैमासिकका लागि स्मार्टफोन उत्पादन ३० प्रतिशतसम्म घटाउने तयारी गरेको छ।
उद्योग स्रोतलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार मेमोरी चिप र अन्य सेमिकन्डक्टरको मूल्य बढ्दा स्मार्टफोन उत्पादन लागतसमेत बढेको छ। यसले स्मार्टफोन बिक्रीबाट हुने नाफामा दबाब सिर्जना गरेको छ।
यसरी एआईका लागि आवश्यक चिपको बढ्दो मागले सामसङको समग्र आम्दानी र नाफा बढाइरहँदा स्मार्टफोन व्यवसायमा भने बढ्दो लागत चुनौतीका रूपमा देखिएको छ।
प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार