काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । स्वीकृत बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी महानुभावहरुको अटूट विश्वास र निरन्तर साथप्रति हार्दिक आभार व्यक्त गरे।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले दोहोर्याए।
साथै, ग्राहकहरुलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने जानकारी पनि उनले दिए।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको जनाएको छ।
प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार