महिनौंसम्म चलेको डाटा चोरीमा ह्याकरले अमेरिकी सेनाका लाखौं कर्मचारीको विवरण चोरेको खुलासा

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
महिनौंसम्म चलेको डाटा चोरीमा ह्याकरले अमेरिकी सेनाका लाखौं कर्मचारीको विवरण चोरेको खुलासा
Symbolic Picture from Freepik.com

काठमाडौं ।

अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको डिफेन्स म्यानपावर डाटा सेन्टर (डीएमडीसी) मा भएको साइबर आक्रमणबाट करिब २८ लाख जीवित र ३ लाख मृत्यु भइसकेका व्यक्तिको व्यक्तिगत विवरण प्रभावित भएको खुलासा भएको छ।

डीएमडीसीका अनुसार घटना अक्टोबर २०२५ देखि मध्य जुलाई २०२६ सम्म भएको हो। ह्याकरहरूले गोप्य फाइल सेयरिङ प्रणालीमा रहेको सुरक्षा कमजोरीको फाइदा उठाएर डाटा चोरी गरेका थिए। ती रेकर्डहरू इन्क्रिप्ट नगरिएको अवस्थामा रहेको बताइएको छ।

चोरी भएका विवरणमा नाम, जन्ममिति, सामाजिक सुरक्षा नम्बर (एसएसएन), लिङ्ग, जातीयता तथा सैन्य सेवासँग सम्बन्धित जानकारी रहेका छन्।

सीएनएन र फेडरल न्युज नेटवर्कका अनुसार पेन्टागनका एक अधिकारीले प्रभावित व्यक्तिको संख्या सार्वजनिक गरेका हुन्। अमेरिकी रक्षा मन्त्रालयकी प्रवक्ता सुसान गफले पनि उक्त संख्या पुष्टि गरेकी छन्। आक्रमणमा संलग्न समूह वा व्यक्तिको पहिचानबारे भने मन्त्रालयले जानकारी दिएको छैन।

डीएमडीसी अमेरिकी रक्षा मन्त्रालयको महत्त्वपूर्ण डाटा प्रणाली हो। यसले ६ करोडभन्दा बढी सैनिक, नागरिक कर्मचारी तथा उनीहरूका परिवारसँग सम्बन्धित रेकर्ड व्यवस्थापन गर्छ। सैन्य तथा नागरिक कर्मचारीको सेवा, सुविधा र पेन्सनसँग सम्बन्धित काममा पनि यसको डाटा प्रयोग हुन्छ। पेन्टागनका कम्प्युटर प्रणाली तथा सैन्य अखडामा प्रवेशका लागि प्रयोग हुने स्मार्ट कार्ड र पासवर्ड प्रमाणीकरणमा पनि डीएमडीसीको भूमिका रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।

रक्षा मन्त्रालयले चोरी भएका डाटा दुरुपयोग भएको कुनै संकेत अहिलेसम्म फेला नपरेको जनाएको छ। यद्यपि चोरी भएका व्यक्तिगत तथा सैन्यसम्बन्धी विवरणको दुरुपयोग हुन सक्ने जोखिम भने रहेको छ।

यसअघि सेप्टेम्बरको सुरुवातमा ‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले एफबीआईका एजेन्टसँग सम्बन्धित डाटा चोरी गरेको घटना सार्वजनिक भएको थियो।

सन् २०१५ मा पनि अमेरिकी सरकारको मानव संसाधन व्यवस्थापन कार्यालयमा भएको साइबर आक्रमणबाट २ करोड २० लाखभन्दा बढी सरकारी कर्मचारी तथा पूर्वकर्मचारीको विवरण चोरी भएको थियो। उक्त घटनामा चीनको संलग्नता रहेको आरोप लगाइएको थियो।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार