विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर बन्द गर्ने, अनलाइनबाट मात्र भुक्तानी गर्ने व्यवस्था मिलाइने

  • Technology Khabar | १३ आश्विन २०८३, मंगलवार
विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर बन्द गर्ने, अनलाइनबाट मात्र भुक्तानी गर्ने व्यवस्था मिलाइने

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरण (एनईए) को तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ।

आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्नेगरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेशकुमार महतोले बताए। उनका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८३/८४ को नीति र निर्देशनअनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई २४ घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ।

हाल अनलाइन भुक्तानी गर्नेको सङ्ख्या उल्लेख्य रहेको उनको भनाइ छ। हाल ४२ प्रतिशत ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्न थालेका छन्। भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकमभन्दा बढी समय र आवतजावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महतोको भनाइ छ।

उनका अनुसार रु १०० महसुल बुझाउन गाउँबाट कार्यालय आउँदा ग्राहकको रु ४०० देखि ५०० सम्म खर्च हुने र दिनभरीको समय खेर जाने गरेको छ। घरमै बसेर एक/दुई मिनेटमै भुक्तानी सम्पन्न गर्न सकिनेछ । रु ५०० सम्मको महसुल अनलाइन भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने र सोभन्दा बढी रकमको भुक्तानीमा पनि न्यूनतम शुल्क मात्र लाग्ने उनले बताए।

विद्युत् प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक, मोबाइल बैंकिङ एपबाट सहजै रुपमा विद्युत् महशुल तिर्न सकिन्छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्राधिकरणले विद्यालयमा विद्युतीय सुरक्षा तथा अनलाइन पेमेन्टसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकलाई पम्प्लेट वितरण गरिरहेको प्रमुख महतोले बताए।

तुलसीपुर वितरण केन्द्रअन्तर्गत हाल ५५ हजार ग्राहक छन् । रासस

प्रकाशित: १३ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार