काठमाडौं ।
लक्जरी कार बजारमा उल्लेख्य हिस्सा ओगटेको आउडी ब्रान्डको ‘आउडी ए६ ई-ट्रोन’ ले एक उल्लेखनीय कीर्तिमान कायम गरेको छ। पोल्याण्डका र्याली चालक मिको मार्जिकले यो इलेक्ट्रिक स्पोर्टब्याक गाडीलाई एक पटकको चार्जमा १,३३८ किलोमिटरको दूरीसम्म चलाएर यो उपलब्धि हासिल गरेका हुन्।
सञ्चारमाध्यमका अनुसार, यो कीर्तिमान ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गर्ने प्रयासका क्रममा बनाइएको हो। मिकोले सेप्टेम्बर ११ मा आउडी ए६ ई-ट्रोन (Audi A6 e-Tron) मार्फत यो कीर्तिमानी यात्रा सुरु गरेका थिए। पोल्याण्डका सहरहरू ‘टोरुन’ र ‘सिएचोसिनेक’ बीच गरिएको यो यात्रा ४५ घण्टासम्म चलेको थियो र यस क्रममा कुल १,३३८ किलोमिटर दूरी पार गरिएको थियो।
विशेष कुरा के छ भने, यात्राको दौरान आउडी ए६ ई-ट्रोनलाई चार्ज गर्न कतै पनि रोकिएको थिएन।
सामान्यतया रेसिङ प्रतियोगितामा भाग लिने चालकहरू उच्च गतिमा ध्यान केन्द्रित गर्छन्, तर मिकोको उद्देश्य भने गाडीको कार्यक्षमतालाई अधिकतम बनाउनु थियो। यो यात्रामा उनी क्राकोभ, सान्दोमिएर्ज, वार्सा र ग्रुद्जियान्द्ज जस्ता पोल्याण्डका प्रमुख सहरहरू हुँदै गएका थिए र सोही बाटो भएर फर्किएका थिए।
आउडीले जनाएअनुसार, यो ड्राइभिङ सामान्य ट्राफिक अवस्था (जसमा व्यस्त समयको जाम र परिवर्तनशील मौसम पनि समावेश थिए) मा गरिएको थियो र यात्राको क्रममा गाडी रिचार्ज गर्न अनुमति थिएन।
डब्लुएलटीपी परीक्षण चक्रअनुसार अडी ए६ ई-ट्रोनको रेन्ज करिब ७७७ किलोमिटर छ; तर यो कीर्तिमानी यात्रामा थप ५६१ किलोमिटर रेन्ज प्राप्त भयो, जसले ऊर्जा खपतमा ड्राइभिङ शैली र कार्यक्षमतामा केन्द्रित प्रविधिहरूको प्रभावलाई उजागर गर्दछ।
आउडीले जनाएअनुसार, यस यात्रामा मिकोले प्रति १०० किलोमिटरमा जम्मा ७.०९ किलोवाट-आवर ऊर्जा खपत गरे। आउडी ए६ ई-ट्रोनको कुल ब्याट्री क्षमता १०० किलोवाट-आवर र प्रयोगयोग्य क्षमता ९४.९ किलोवाट-आवर रहेको छ।
गाडीको रेन्ज अधिकतम बनाउन मिकोले अनावश्यक रूपमा गति बढाउने वा ब्रेक लगाउने कार्य कम गरेका थिए भने टायरको हावाको चाप सन्तुलित राखे र ‘रिजेनेरेटिभ ब्रेकिङ’ को व्यापक प्रयोग गरे। मिकोले यात्राका क्रममा तय गरिएको दूरी अपेक्षाभन्दा बढी भएको उल्लेख गर्दै यसको श्रेय उक्त विद्युतीय सवारीको एरोडायनामिक डिजाइन र ब्याट्री प्रविधिलाई दिए।
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार