काठमाडौं ।
नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, जडान र सुरक्षा’सम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको हो।
प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालित यो कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास संगठन (युएनआईडिओ) द्वारा व्यवस्थापित तथा बेलायत सरकारको सहयोगमा एक्सिलरेट-टु-डेमोन्स्ट्रेट (एटुडी) फ्यासिलिटी अन्तर्गत सञ्चालित ग्रिड रेजिलेन्स थ्रु इन्टेलिजन्ट फोटोभोल्टाइक सिस्टम्स फेज-२ (जीआरआईपीएस२) परियोजना मार्फत आयोजना गरिएको हो।
पाँच दिनसम्म सञ्चालन हुने यस तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्थान र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूबाट छनोट गरिएका ४५ जना इन्जिनियरहरूको सहभागिता रहेको छ।
तालिमका क्रममा सहभागीहरूलाई औद्योगिक क्षेत्रका लागि आवश्यक सोलार पीभी तथा बीईएसएस प्रणालीको डिजाइन, जडान, सञ्चालन, सुरक्षा व्यवस्थापन, आर्थिक विश्लेषण तथा ग्रिड एकीकरण सम्बन्धी व्यावहारिक र प्राविधिक ज्ञान हस्तान्तरण गरिनेछ।
तालिममा ऊर्जा संक्रमण, नेपालमा सौर्य र ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक डिकार्बोनाइजेसन (औद्योगिक कार्बन उत्सर्जन कटौती), ऊर्जा व्यवस्थापन, ग्रिड सेवाहरू, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा, वातावरणीय तथा सामाजिक सुरक्षा, सञ्चालन तथा मर्मत र पुनःप्रयोग एवं पुनर्चक्रणजस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्। सैद्धान्तिक ज्ञानका अलावा सहभागीहरूलाई वास्तविक औद्योगिक परिदृश्यमा आधारित समूह अभ्यास र क्षेत्रीय अवलोकन भ्रमणमार्फत व्यावहारिक अनुभव गराइने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।
नेपालले स्वच्छ ऊर्जा विस्तार, ऊर्जा सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकतामा राखिरहेको वर्तमान सन्दर्भमा सौर्य ऊर्जा र बीईएसएसको प्रयोगले उद्योगहरूको ऊर्जा लागत घटाउन, विद्युत् आपूर्तिको भरपर्दोपना बढाउन र कार्बन उत्सर्जन कम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा केन्द्रले गरेको छ।
‘विशेषगरी हालैका बाढी तथा जलवायुजन्य विपद्हरूले ऊर्जा पूर्वाधारको जलवायु जोखिमलाई उजागर गरेको छ। नेपालको विद्युत् प्रणाली मुख्यतः जलविद्युत्मा आधारित रहेको र उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारहरू नदी प्रणालीसँग नजिक रहेकाले चरम मौसमीय घटनाबाट प्रभावित हुनसक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीले स्थानीय स्तरमै ऊर्जा उत्पादन र सञ्चय गर्न सक्ने भएकाले ऊर्जा प्रणालीको जलवायु सहनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ,’ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी सञ्चालक समिति सदस्य अंकिता शाहले भनिन् ।
उनकाअनुसार सोलार पीभी र बीईएसएसको प्रणालीको डिजाइन, जडान, सञ्चालन, मर्मत, ऊर्जा व्यवस्थापन तथा रियल टाइम मोनिटरिङका क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्दै यस कार्यक्रमले हरित रोजगारी सिर्जना गर्न र नयाँ उद्यमशीलताका अवसरहरू खोल्न टेवा पुर्याउनेछ।
सञ्चालक समिति सदस्य शाहले वर्तमान सरकार र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख प्राथमिकता नै ऊर्जा मिश्रण र ऊर्जा सुरक्षा रहेको बताइन्। ‘यस पटक बीईएसएस सहितको सौर्य ऊर्जा सरकारको उच्च प्राथमिकतामा रहेको छ । यससम्बन्धी नीतिगत स्तर र दिशानिर्देशहरूमा द्रुत गतिमा काम भइरहेको छ । चाँडै सोलारमा आधारित बीईएसएसलाई एउटा प्रमुख औद्योगिक क्षेत्रका रूपमा विकास गर्न लागिएको सन्दर्भमा यो तालिम एकदमै उपयुक्त समयमा आयोजना भएको छ,’ उनले भनिन् ।
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार