काठमाडौं ।
क्रिप्टोकरेन्सी एक्सचेन्ज बिटगेटले ह्याकिङबाट करिब ३५ करोड १६ लाख डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएपछि ग्राहकलाई रकम झिक्न दिने सुविधा बन्द गरेको छ। कम्पनीले सबै प्रयोगकर्ताको रकम सुरक्षित रहेको जनाएको छ।
रोयटर्सका अनुसार सेसेल्समा मुख्यालय रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ग्रेसी चेनले बिहीबार आफ्ना केही क्रिप्टोकरेन्सी वालेटबाट अनधिकृत रूपमा रकम स्थानान्तरण भएको पत्ता लागेपछि ग्राहकको रकम झिक्ने सुविधा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बताएकी हुन्।
चेनले सबै प्रयोगकर्ताको रकम सुरक्षित रहेको र चोरीबाट भएको नोक्सानी कम्पनीको आफ्नै कोषबाट बेहोर्ने बताएकी छन्।
चेनले शुक्रबार रोयटर्सलाई इमेलमार्फत दिएको जानकारीमा भनिन्, “सुरक्षा सावधानीका रूपमा रकम झिक्ने सुविधा अस्थायी रूपमा बन्द गरिएको हो, कोषको अभावका कारण होइन।”
बिटगेटका अनुसार यसका १२ करोडभन्दा बढी प्रयोगकर्ता छन्। यसले यसलाई विश्वका ठूला क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बनाएको छ।
क्रिप्टोकरेन्सी एक्सचेन्जहरू वर्षौँदेखि ह्याकिङ र चोरीको निशानामा पर्दै आएका छन्। गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट ह्याकिङमार्फत १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको थियो। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त घटनामा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको जनाएको थियो।
उत्तर कोरियाले साइबर ह्याकिङ वा क्रिप्टोकरेन्सी चोरीमा आफ्नो संलग्नता रहेको आरोप नियमित रूपमा अस्वीकार गर्दै आएको छ।
अधिकारीहरूका अनुसार अपराधीहरूले मुख्यधारको वित्तीय प्रणाली प्रयोग नगरी चोरी भएको क्रिप्टोकरेन्सीलाई छोटो समयमै विभिन्न देशको सीमापार स्थानान्तरण गर्न सक्छन्।
प्रकाशित: १० आश्विन २०८३, शनिबार