काठमाडौं ।
बेलायतको दूरसञ्चार सेवा प्रदायक भोडाफोन र स्विडेनको दूरसञ्चार उपकरण निर्माता एरिक्सनले नेटवर्कमा कृत्रिम बुद्धिमता प्रयोग गरेर सामान्य फोन कलमा समेत नयाँ सुविधा थप्न सकिने देखाएका छन्।
प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी दुई कम्पनीले वास्तविक समयमा भाषाको अनुवाद गर्ने र पृष्ठभूमिको आवाज हटाउने प्रविधि प्रदर्शन गरेका छन्। एरिक्सन र भोडाफोनका अनुसार यी दुवै सुविधाले सामान्य फोन कलको अनुभवलाई परिवर्तन गर्न सक्ने सम्भावना छ।
एरिक्सनका अनुसार यस सहकार्यमा भोडाफोनको एप्लिकेसन सर्भर र एआई इन्जिनलाई एपीआई प्रयोग गरेर एरिक्सनको आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस) सँग जोडिएको थियो।
यसले दूरसञ्चार नेटवर्क र एआई प्रविधिबीच सम्बन्ध स्थापित गरेको छ। एरिक्सनका अनुसार यो संरचनाले नेटवर्कमार्फत प्रशोधन भइरहेका फोन कलमा एआईमा आधारित प्रविधि प्रयोग गर्न सम्भव बनाउँछ।
भोडाफोनका नेटवर्क रणनीति तथा संरचना निर्देशक मार्को जाङ्गानीले भने, “एआईले मोबाइल नेटवर्कलाई फेरि आवाज दिइरहेको छ। पहिलो मोबाइल फोन कल भएको ५० वर्षभन्दा बढी समयपछि नवप्रवर्तन तीव्र भइरहेको छ र फेरि नेटवर्कमै केन्द्रित हुँदै गएको छ।”
उनले भने, “विगत केही वर्षमा हामीले आफ्ना ग्राहकलाई अझ स्पष्ट रूपमा कुराकानी गर्न सक्षम बनाउन आवश्यक पूर्वाधार, डेटा क्षमता र सुरक्षा व्यवस्था निर्माण गरेका छौँ।”
टेलिकम्स डटकमका अनुसार पृष्ठभूमिको आवाज हटाउने सुविधाले वरपरको आवाज पहिचान गरी हटाउन सक्छ। यसले व्यस्त सडक, यातायात केन्द्रदेखि निर्माणस्थलसम्मका कोलाहलपूर्ण वातावरणमा हुने कुराकानीलाई अझ स्पष्ट बनाउँछ।
भोडाफोन र एरिक्सनले फोन कलमा भाषाको अनुवाद गर्ने सुविधाबारे भने धेरै विवरण दिएका छैनन्। तर, यो प्रणालीले सम्भवतः कलको दुवै छेउमा बोलिने भाषा स्वतः पहिचान गरी त्यसैअनुसार अनुवाद गर्नेछ।
यो सहकार्य दुवै कम्पनीको संयुक्त ‘कोर नेटवर्क अफ द फ्युचर’ कार्यक्रमको हिस्सा हो। यस कार्यक्रमले दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमै एआई जोडेर त्यसलाई नवप्रवर्तनको मञ्चका रूपमा विकास गर्ने सम्भावनाबारे अध्ययन गर्छ।
एरिक्सनमा बेलायत प्रमुख तथा भोडाफोन समूहका लागि जिम्मेवार नाडिन एलनले भनिन्, “भोडाफोनसँगको यो सफल परीक्षणले नेटवर्कमै आधारित एआईले मोबाइल प्रयोगको अनुभवलाई कसरी नयाँ स्वरूप दिन सक्छ भन्ने महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ। भोडाफोनको शक्तिशाली एआई क्षमतालाई एरिक्सनको कोर नेटवर्क र मिडिया प्रशोधन प्रविधिसँग जोडेर वास्तविक समयमा अनुवाद र आवाजको पृष्ठभूमि हटाउनेजस्ता उन्नत सेवा सहज रूपमा उपलब्ध गराउन सकिने हामीले देखाएका छौँ।”
उनले यसलाई ग्राहकका लागि नयाँ मूल्य सिर्जना गर्ने अझ बुद्धिमान् र प्रोग्राम गर्न सकिने नेटवर्क निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरिन्।
नेटवर्कमै आधारित एआई प्रयोग गर्दा ग्राहकले विशेष प्रकारको मोबाइल फोन किन्नुपर्ने वा कुनै एप डाउनलोड गरेर त्यसमा दर्ता गर्नुपर्ने आवश्यकता पर्दैन। यसले यस्तो सेवा प्रयोग गर्न आइपर्ने अवरोध घटाउनुका साथै दूरसञ्चार कम्पनीलाई प्रतिस्पर्धीभन्दा फरक सेवा उपलब्ध गराउने अवसर दिन्छ।
अमेरिकी दूरसञ्चार कम्पनी टी–मोबाइलले पनि यस्तो प्रविधिको परीक्षण गरिरहेको छ।
कम्पनीले फेब्रुअरीमा ‘लाइभ ट्रान्सलेसन’ नामको नेटवर्कमा आधारित वास्तविक समयको फोन कल अनुवाद सुविधा सार्वजनिक गरेको थियो। यस सुविधामा प्रयोगकर्ताले फोन कलकै क्रममा ८७ डायल गरेपछि नेटवर्कले ८० भन्दा बढी भाषामध्ये कुनै पनि भाषामा भएको कुराकानी तत्काल अनुवाद गर्छ।
यो सेवाको परीक्षण संस्करण मे महिनामा सार्वजनिक गरिएको थियो। तर, यो सुविधा निश्चित पोस्टपेड ग्राहकका लागि मात्र उपलब्ध थियो। कम्पनीले अहिलेसम्म यसको पूर्ण संस्करण सार्वजनिक गरेको छैन।
एआईबाट अनावश्यक र कमजोर गुणस्तरका सामग्री उत्पादन भइरहेको भन्ने आलोचना बढ्दै गएको छ। साथै, अत्याधुनिक एआई विकास गर्ने कम्पनीहरू पनि सार्वजनिक निगरानीमा पर्दै गएका छन्। यस्तो अवस्थामा एआई प्रविधिको उपयोगिता प्रमाणित गर्न उद्योगमाथि दबाब बढिरहेको छ।
पृष्ठभूमिको आवाज हटाउने र वास्तविक समयमा भाषाको अनुवाद गर्ने जस्ता प्रविधिले विश्व नै परिवर्तन नगर्न सक्छन्। तर, यस्ता सुविधाको उपयोगिता भने स्पष्ट देखिन्छ।
प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार