काठमाडौं ।
२०८३ असारसम्म ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी ७४ जिल्लाका तोकिएकामध्ये १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन यस्तो उल्लेख गरिएको हो।
आरटीडीएफअन्तर्गत सञ्चालन गरिएको ब्रोडब्यान्ड एक्सेस नेटवर्क परियोजनाका १८ वटा प्याकेजमार्फत ती स्थानमा इन्टरनेट सेवा जडान सम्पन्न भएको हो।
परियोजनाअन्तर्गत ७०८ स्थानीय तहका कार्यालय, ५ हजार ९३३ वडा कार्यालय, ५ हजार ३१८ माध्यमिक विद्यालय र ४ हजार २४९ स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरिएको छ। यी सबै जोड्दा १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न भएको विवरणमा उल्लेख छ। यसका लागि हालसम्म ५ अर्ब ४३ करोड ७२ लाख ९३ हजार १६९ रुपैयाँ ४२ पैसा भुक्तानी भएको छ।
यसैगरी भूकम्पबाट अति प्रभावित आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट सेवा स्तरोन्नति तथा सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्ने कार्यक्रम अघि बढाइएको छ।
प्राधिकरणका अनुसार यस कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा समेटिएका छन्। यी जिल्लाका ७६ स्थानीय तहमध्ये ७३ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ। हालसम्म ५३ स्थानीय तहमा काम सम्पन्न भएको विवरणमा उल्लेख छ।
कार्यक्रमअन्तर्गत ५२५ पालिका तथा वडा कार्यालय, २ हजार ३६० सामुदायिक विद्यालय र ६४३ सामुदायिक स्वास्थ्य संस्था तथा अस्पतालमा काम सम्पन्न भएको छ। यसअनुसार कुल ३ हजार ५२८ स्थानमा काम सम्पन्न भएको हो।
यस कार्यक्रमअन्तर्गत हालसम्म १७ करोड ५७ लाख ४९ हजार ४९५ रुपैयाँ ८६ पैसा भुक्तानी भएको छ। बाँकी भुक्तानीका लागि सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरण तथा भुक्तानी दाबी अध्ययन भइरहेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार