काठमाडौं ।
एप्पलले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘आईफोन २० प्रो (iPhone 20 Pro)’ सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ। यो फोन लामो समयदेखि चर्चाको विषय बनेको छ। यसलाई कम्पनीको दुई दशकयताकै सबैभन्दा ठूलो लन्च र अहिलेसम्मकै सबैभन्दा विशेष आईफोनका रूपमा हेरिएको छ।
यसको आकर्षक बनावटबारे चर्चा चल्न थालिसकेको छ र हालै यसको डिस्प्लेसम्बन्धी महत्त्वपूर्ण विवरणहरू बाहिर आएका छन्। यस फोनको डिस्प्लेको आकारमा ठूलो अपग्रेड देखिन सक्छ।
आईफोन २० प्रो अर्को वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ, र सम्भवतः यससँगै आईफोन २० प्रो म्याक्स पनि आउन सक्छ। दुवै मोडलहरूमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण सुधारहरू ल्याउने सम्भावना छ, जसमा डिजाइन मात्र नभई डिस्प्लेको आकार पनि समावेश छ। हालै, चीनका चर्चित ‘टिपस्टर’ डिजिटल च्याट स्टेशनले चिनियाँ माइक्रो ब्लगिङ्ग साइट वेईबोमार्फत आईफोन २० प्रो र आईफोन २० प्रो म्याक्सका प्रोटोटाइपहरूको परीक्षण भइरहेको जानकारी दिएका छन्। यी मोडलहरूमा ‘क्वाड-कर्भ्ड’ (चारैतिर घुमाउरो) डिजाइन र एकदमै सानो डिस्प्ले कटआउट रहने अपेक्षा गरिएको छ।
अब, सूचना चुहाउने व्यक्तिले तिनका डिस्प्लेको आकारबारे पनि जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार, हाल आईफोन २० प्रोको ६.४१-इन्चको डिस्प्लेसहित परीक्षण भइरहेको छ, जसको रिजोल्युसन करिब २,६८६ x १,२३६ पिक्सेल हुन सक्छ। यसैबीच, ठूलो आकारको आईफोन २० प्रो म्याक्स मोडलमा ६.९६ इन्चको प्यानल रहनेछ, जसको रिजोल्युसन करिब २,९१२ x १,३४० पिक्सेल हुनसक्नेछ। यी प्रारम्भिक विवरणहरू हुन् र उत्पादन सुरु हुनुअघि यिनमा परिवर्तन हुन सक्ने बताईएको छ।
यदि यस्तो भएमा, आईफोन १७ प्रो र आईफोन १८ प्रो को तुलनामा आईफोन २० प्रोको आकार करिब ०.१ इन्चले बढ्नेछ। एप्पलले यस प्यानललाई ७ इन्चको डिस्प्लेका रूपमा बजारमा ल्याउन सक्ने बताइएको छ। आईफोन २० प्रो को डिस्प्ले डेन्सिटी (घनत्व) करिब ४६० पीपीआई रहने अपेक्षा गरिएको छ। साथै, एप्पलले आईफोन २० प्रो सिरिजका लागि ‘बोर्डरलेस’ (किनारा नभएको) र ‘क्वाड-कर्भ्ड’ (चारैतिर घुमाउरो) डिस्प्ले डिजाइनको परीक्षण गरिरहेको खबर पनि आएको छ। यसका अतिरिक्त, डिस्प्लेमा सानो ‘कटआउट’ हुन सक्छ, जसले ‘डायनामिक आइल्यान्ड’को आकार अझ घटाउन सक्छ।
एप्पलको २० औं वर्षको अवसरमा आईफोन २० सिरिज आउने संभावना भएसँगै आईफोन १९ सिरिज भने नआउने अनुमान गरिएको छ।
प्रकाशित: ७ आश्विन २०८३, बुधबार