काठमाडौं ।
फ्रान्सेली विमान निर्माता डासोल्ट एभिएसनले आफ्नो राफेल लडाकु विमानमा दुई नयाँ एआई एल्गोरिदमको उडान परीक्षण गरेको जनाएको छ। हतियार निर्माता कम्पनीहरूले भविष्यका हतियार प्रणालीमा कृत्रिम बुद्धिमता समावेश गर्ने प्रयास गरिरहेका बेला यो पछिल्लो कदम हो।
यसै वर्ष एयरबससँगको फ्रान्स–जर्मनी संयुक्त लडाकु विमान परियोजना असफल भएपछि फ्रान्सले नयाँ पुस्ताको लडाकु विमान विकास गर्ने वा विद्यमान विमानमा सुधार गर्ने तयारी गरिरहेको छ। युरोपले रक्षा क्षेत्रमा थप आत्मनिर्भरता खोजिरहेका बेला डासोल्टको यो कदम आएको हो।
डासोल्टका अनुसार उसले आफ्नै इन्जिनियरहरूले विकास गरेको एउटा एल्गोरिदम र फ्रान्सेली रक्षा प्रविधि समूह थेल्ससँगको सहकार्यमा विकास गरिएको अर्को एल्गोरिदम परीक्षण गरेको हो। यी दुई कम्पनीले फ्रान्सको आफ्नै राफेल लडाकु विमानमा यसअघि पनि सहकार्य गर्दै आएका छन्।
रोयटर्सका अनुसार डासोल्टले परीक्षणको विवरण वा एल्गोरिदमले गर्ने कामबारे जानकारी दिएको छैन। तर कम्पनीले यी परीक्षण मानिसद्वारा सञ्चालित विमानका चालकदललाई सहयोग गर्न एआईलाई एकीकृत गर्ने बृहत् योजनाको हिस्सा भएको जनाएको छ।
कम्पनीले भनेको छ, “उनीहरूले यस्तो स्तरको परिपक्वता हासिल गरेका छन्, जसले उनीहरूलाई भविष्यका राफेल सुधारका लागि योग्य बनाएको छ।”
विश्वभरका हतियार निर्माता कम्पनीहरूले पाइलटलाई छिटो निर्णय लिन सहयोग गर्न र परम्परागत लडाकु विमानसँगै उड्ने मानवरहित ‘विङम्यान’ ड्रोनसँग समन्वय गर्न एआईको परीक्षण गरिरहेका छन्।
स्विडेनको साबले गत वर्ष आफ्नो ग्रिपेन ई लडाकु विमानमा एआई प्रयोग गरी वास्तविक लडाकु विमानका पाइलटविरुद्ध युद्ध परीक्षण गरेको जनाएको थियो। कम्पनीले नयाँ पुस्ताका लडाकु विमानसम्बन्धी अवधारणाको अध्ययनका क्रममा यस्तो परीक्षण गरेको थियो।
सन् २०२४ मा अमेरिकी वायुसेनाका सचिवले शिल्ड एआईले उपलब्ध गराएको मेसिन लर्निङ प्रविधि जडान गरिएको परिमार्जित एफ–१६ विमानमा उडान गरेका थिए। उक्त प्रदर्शनमा एआईले चालकसहितको एफ–१६ विमानसँग हवाई युद्धमा सहभागी हुन सक्ने क्षमता देखाइएको थियो।
डासोल्टले नयाँ साझेदारसँग सहकार्यका लागि खुला रहँदै आफ्नै लडाकु विमान विकास गर्न सक्ने बताउँदै आएको छ।
प्रकाशित: ७ आश्विन २०८३, बुधबार