इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १५ सयभन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १५ सयभन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम

काठमाडौं ।

इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५ सय भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक सम्पन्न गरेका छन्।

ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।

मोबाइलबाटै सहज रूपमा पूरा गर्न सकिने गरी तयार गरिएको यो अनलाइन कोर्सले ड्राइभर पार्टनरलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न, यात्रुसँग व्यावसायिक व्यवहार कायम राख्न तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई प्रभावकारी रूपमा सम्हाल्न आवश्यक व्यावहारिक जानकारी प्रदान गर्दछ।

कम्पनीका अनुसार हालसम्म १ हजार ५ सय भन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी इनड्राइभबाट डिजिटल प्रमाणपत्र प्राप्त गरिसकेका छन्।

करिब २० मिनेटमा पूरा गर्न सकिने गरी तयार गरिएको कोर्समा मुख्यतः अन–प्ल्याटफर्म सुरक्षा तथा व्यावसायिक सीमाहरू, राइड–हेलिङ सेवाका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान तथा आपतकालीन अवस्था, रिपोर्टिङ र एसओएस सुविधाको प्रयोग सम्बन्धी विषय समेटिएका छन्।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘१,५०० भन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी प्रमाणपत्र प्राप्त गर्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। ड्राइभरहरू दिनको धेरै समय सडकमा बिताउँछन् र प्रत्येक दिन विभिन्न परिस्थितिको सामना गर्छन्। त्यसैले उनीहरूलाई व्यवहारमा उपयोगी हुने सुरक्षा सम्बन्धी जानकारी उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण छ। यस कोर्समार्फत हामी हाम्रा ड्राइभर पार्टनरलाई सेवा प्रदान गर्ने क्रममा अझ आत्मविश्वासी, सचेत र तयार बनाउन चाहन्छौँ। एप प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयसँगै आफ्नो दैनिक काम कसरी पूर्ण रूपमा सुरक्षित र सतर्क भएर गर्न सकिन्छ भन्नेबारे पनि कोर्सले आवश्यक जानकारी प्रदान गर्छ।’

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जीता गुरुङले भनिन्, ‘ड्राइभर पार्टनरले आफ्नो नियमित कामबाट धेरै समय छुट्याउनु नपरोस् भन्ने उद्देश्यले कोर्सलाई सरल, छोटो र सहज रूपमा तयार गरिएको हो । हामीले प्राप्त गरेको प्रतिक्रियाले व्यावहारिक र सजिलै बुझ्न सकिने सुरक्षा तालिमले ड्राइभरहरूको दैनिक कार्यशैलीमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ।’

कोर्स पूरा गरेका इनड्राइभका मोटरसाइकल ड्राइभर पार्टनर विशाल पाख्रिनले भने, ‘म दिनको धेरै समय मोटरसाइकल चलाएर सडकमा बिताउँछु। दैनिक कामका क्रममा सामान्य ठानेर कहिलेकाहीँ बेवास्ता हुने सुरक्षा सम्बन्धी कुराहरूको महत्व यो कोर्सले फेरि सम्झाइदियो। विशेषगरी सडक सुरक्षा, आपतकालीन अवस्था र एसओएस सुविधासम्बन्धी जानकारी उपयोगी लाग्यो। अचानक कुनै समस्या आइपरेमा के गर्ने भन्ने विषयमा अझ स्पष्ट जानकारी पाउन सकेँ।’

त्यसैगरी, इनड्राइभका क्याब ड्राइभर पार्टनर कमल घिमिरेले भने, ‘यो कोर्सले सुरक्षित ड्राइभिङ भनेको सावधानीपूर्वक गाडी चलाउनु मात्र होइन भन्ने बुझ्न मद्दत गर्यो। यात्रुसँग कसरी संवाद गर्ने, व्यावसायिक व्यवहार कायम राख्ने र यात्राका क्रममा उत्पन्न हुन सक्ने विभिन्न परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेछ। तालिम सरल, उपयोगी र हाम्रो दैनिक कामसँग प्रत्यक्ष सम्बन्धित थियो।’

सेफ ड्राइभिङ अनलाइन कोर्सका तीन मुख्य मोड्युल रहेका छन्।
कोर्स ए – अन–प्ल्याटफर्म सुरक्षा र व्यावसायिक सीमाहरू
यो मोड्युलले प्लेटफर्ममार्फत सेवा प्रदान गर्ने क्रममा यात्रुसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कसरी कायम राख्ने भन्ने विषयमा केन्द्रित छ । साथै, यात्राका क्रममा आवश्यक व्यावसायिक सीमा पहिचान तथा कायम राख्ने विषयसमेत यसमा समेटिएको छ।

कोर्स बी – राइड–हेलिङका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान
राइड–हेलिङ सेवाको वास्तविक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस मोड्युलमा रक्षात्मक ड्राइभिङ अभ्यास, बढी ट्राफिक हुने क्षेत्र तथा अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानी र दैनिक रूपमा उपयोगी सडक सुरक्षा अभ्याससम्बन्धी जानकारी समेटिएको छ।

कोर्स सी– आपतकालीन अवस्था, रिपोर्टिङ र एसओएस प्रयोग
यो मोड्युलले आपतकालीन अवस्थामा ड्राइभर पार्टनरलाई शान्त, सुरक्षित र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सहयोग गर्ने उद्देश्य राख्छ। यसमा इनड्राइभ एपमा उपलब्ध एसओएस सुविधा प्रयोग गर्ने तरिका तथा कुनै घटना भएमा उपयुक्त माध्यमबाट कसरी रिपोर्ट गर्ने भन्ने विषय समावेश गरिएको छ।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार