काठमाडौं ।
प्रहरीले ‘फ्री इन्टरनेट’को नाममा आउने विज्ञापन तथा शंकास्पद एपबाट सावधान रहन आग्रह गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले आज एक सार्वजनिक सूचना जारी गर्दै ‘फ्री इन्टरनेट’ उपलब्ध गराउने भन्दै आउने विज्ञापनको जालमा नपर्न अनुरोध गरिएको छ। यस्ता विज्ञापनमार्फत प्रयोगकर्तालाई शंकास्पद एप (एपीके) डाउनलोड तथा इन्स्टल गर्न लगाई मोबाइलमा मालवेयर प्रवेश गराउन सक्ने ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार यस्ता शंकास्पद एप इन्स्टल गर्दा मोबाइलमा रहेका संवेदनशील जानकारी तथा बैंकिङ विवरण जोखिममा पर्न सक्छन्। यसबाट प्रयोगकर्ताको बैंक खाताबाट रकमसमेत चोरी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
साइबर ब्यूरोले ‘फ्री इन्टरनेट’ वा अन्य प्रलोभन देखाएर पठाइएका शंकास्पद लिंक तथा एपमा क्लिक नगर्न र अनावश्यक एप इन्स्टल नगर्न अनुरोध गरेको छ।
साइबरसम्बन्धी समस्या वा घटना भएमा साइबर ब्यूरो, भोटाहिटी, काठमाडौंमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
प्रकाशित: २९ भाद्र २०८३, सोमबार