डिजिटल बोर्डबाट पर्यटकीय स्थलको प्रचार

  • Technology Khabar | २८ भाद्र २०८३, आईतवार
डिजिटल बोर्डबाट पर्यटकीय स्थलको प्रचार
सांकेतिक तस्विर

काठमाडौं ।

गौतम बुद्धको जन्मस्थलसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाले भरिएको कपिलवस्तुमा पर्यटकीय स्थलको प्रचारप्रसार डिजिटल माध्यमबाट गर्न थालिएको छ।

कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका पर्यटकीय तथा पुरातात्त्विक क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बजार क्षेत्रमा डिजिटल एलइडी स्क्रिन जडान गरेको हो।

नगरपालिकाले प्रमुख बजार क्षेत्र नयाँ टोलका सडकमा २३ वटा डिजिटल स्क्रिन जडान गरेको छ। प्रत्येक स्क्रिन दुई फिट चौडाइ र तीन फिट लम्बाइका छन्। यी स्क्रिनमार्फत कपिलवस्तुका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलका दृश्य तथा जानकारी प्रसारण भइरहेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख सुदीप पौडेलका अनुसार गौतम बुद्धसँग जोडिएका पुरातात्त्विक स्थलसँगै विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर ताल, तिलौराकोट, कुदान, अरौराकोट, ताम्रेश्वर महादेव मन्दिरलगायतका क्षेत्रको पर्यटन प्रवर्धनलाई प्राथमिकता दिइएको छ।

उनले क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग सम्बन्धित स्थलको प्रचारप्रसारसमेत डिजिटल स्क्रिनमार्फत गरिने बताए। नयाँ टोलमा जडान गरिएका २३ वटा स्क्रिनमा ३१ लाख ९६ हजार ७४४ रुपियाँ खर्च भएको नगरपालिकाका वरिष्ठ इन्जिनियर राजेशकुमार सैनीले जानकारी दिए।

यसै गरी नगरपालिकाले दुई स्थानमा ठुला एलइडी प्यानलसमेत जडान गरेको छ । छ फिट उचाइ र १० फिट लम्बाइका ती प्यानल प्राचीन ताम्रेश्वर मन्दिर र मुख्य चोक गौडी चोकमा राखिएका छन्। ती दुई स्क्रिन जडानमा करिब २० लाख रुपियाँ लगानी गरिएको नगरपालिकाले जनाएको छ।

एलइडी स्क्रिनमा पर्यटकीय स्थलको प्रचारप्रसारसँगै नगरपालिकाले निर्माण गरेका वृत्तचित्र, यस वर्ष जगदीशपुर ताल क्षेत्रमा तीन वटा एलइडी स्क्रिन जडान गर्ने तयारीमा रहेको पालिकामा सूचना तथा प्रविधि अधिकृत प्रभाकर सिंह चौधरीले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २८ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...