काठमाडौं ।
पब्जी मोबाइल नेपाले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।
राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत प्रभावित परिवारका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको छ।
उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आवश्यक समन्वय गरी सामग्रीलाई नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमशः वितरण गर्नेछ।
प्रभावित समुदायले सामना गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै तत्काल आवश्यक सामग्री उपलब्ध गराई जारी राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले पब्जी मोबाइल नेपालले यो पहल गरेको बताइएको छ।
यो सहयोग स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले प्रभावित समुदायसम्म आवश्यक सहायता पुर्याउन गरिरहेका समन्वित राहत प्रयासमा योगदान पुर्याउने उद्देश्यले गरिएको हो।
संस्थाको दावी अनुसार राहत सामग्री उपलब्ध गराउनुका साथै पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक क्यूआर कोडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सम्बन्धी जानकारी आफ्ना समुदायमा साझा गरिरहेका छन्।
उनीहरूले इच्छुक व्यक्तिहरूलाई आधिकारिक माध्यममार्फत जारी राहत प्रयासमा सहयोग गर्न सकिनेबारे जानकारीसमेत दिइरहेका छन्।
पब्जी मोबाइल नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत तथा सहयोगका कार्यमा खटिरहेका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह तथा विभिन्न संघसंस्थाको प्रयासप्रति सम्मान व्यक्त गरेको छ।
प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार