काठमाडौं ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा फ्रन्टलाइन हस्पिटलसँग स्वास्थ्य तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गरेको छ।
वार्षिकोत्सवका अवसरमा एलबीईएफ र फ्रन्टलाइन हस्पिटलबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो। सोही अवसरमा फ्रन्टलाइन हस्पिटलले ‘एलबीईएफ सञ्जीवनी’ को उद्घाटन गरेको थियो। कार्यक्रममा ‘फाइनल इयर प्रोजेक्ट (एफवाईपी) एक्स्पो २०२६’ समेत आयोजना गरिएको थियो।
दुई संस्थाबीचको समझदारीपछि एलबीईएफका सदस्यहरूको स्वास्थ्य तथा सहयोगसम्बन्धी सेवाहरूलाई थप सुदृढ बनाउने पहल अघि बढेको छ। शैक्षिक गतिविधिसँगै विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणलाई प्राथमिकता दिने एलबीईएफको प्रतिबद्धतालाई सहकार्यले प्रतिबिम्बित गरेको फाउण्डेशनका अध्यक्ष इन्जिनियर पंकज जालानले बताए।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा फ्रन्टलाइनका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्धन चोर्डिया, एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष पंकज जालान, कार्यकारी निर्देशक प्रकाश केजरीवाल तथा प्रमुख सञ्चालन अधिकृत नीलमणि न्यौपानेको उपस्थिति थियो।
वार्षिकोत्सवकै अवसरमा आयोजित एफवाईपी एक्स्पो २०२६ मा बीएससी आईटीका अन्तिम सेमेस्टरका ८० जना विद्यार्थीले विकास गरेका विभिन्न परियोजना प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा विद्यार्थीले आफ्नो शैक्षिक यात्रामा हासिल गरेको ज्ञान, प्राविधिक सीप, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमता प्रस्तुत गरेका थिए।
एक्स्पोको अवलोकन गर्दै डा. चोर्डियाले विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए। उनले विद्यार्थीले विकास गरेका विभिन्न नवीन परियोजनाबारे जानकारी लिएका थिए।
अन्तरक्रियाले विद्यार्थीलाई आफ्ना सिर्जनात्मक अवधारणा प्रस्तुत गर्नुका साथै उद्योग क्षेत्रका नेतृत्वकर्ताबाट सुझाव र प्रोत्साहन प्राप्त गर्ने अवसर दिएको थियो।
विद्यार्थीहरूले आफ्ना परियोजनामार्फत वास्तविक जीवनका चुनौती समाधान गर्न सूचना प्रविधिको प्रयोग गर्दै नवीन अवधारणा तथा व्यावहारिक समाधान प्रस्तुत गरेका थिए।
एफवाईपी एक्स्पोले शैक्षिक सिकाइ र उद्योग क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने एलबीईएफका अध्यक्ष जालानले बताए।
एलबीईएफले २८ वर्षको यात्रालाई केवल वार्षिकोत्सवका रूपमा मात्र नभई नवप्रवर्तन, विद्यार्थी विकास, उद्योग क्षेत्रसँगको सहकार्य तथा समुदायको कल्याणप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसरका रूपमा लिएको जनाएको छ।
उदीयमान प्रविधि प्रतिभाको विकासदेखि फ्रन्टलाइनद्वारा सञ्चालित ‘सञ्जीवनी’ जस्ता पहलसम्म एलबीईएफले आफ्नो समुदायका बदलिँदा आवश्यकताअनुसार आफूलाई निरन्तर विकसित गर्दै आएको जनाएको छ। संस्थाले नेपालको सूचना प्रविधि शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई थप सुदृढ गर्ने प्रतिबद्धता पनि जनाएको छ।
प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार