काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले छुट्टाछुट्टै कार्यक्रमका बीच २०८३ साउन २० गते क्रिकेट खेलाडी कुशल भुर्तेल र २०८३ भदौ २५ गते नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्तासहित आम नागरिकसँग नेपाल टेलिकमको सम्बन्ध थप सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन्।
उनले यस्तो साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्नुका साथै व्यवसाय प्रवर्द्धन र नेपाल टेलिकमका सेवा–सुविधाको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको बताइन्।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा गौरवान्वित र उत्साहित भएको बताएका छन्। उनीहरूले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवा–सुविधाको प्रवर्द्धन तथा बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
ब्रान्ड एम्बेसडरका रूपमा भुर्तेल र शाहले स्वदेश तथा विदेशमा रहेका नेपाल टेलिकमका ग्राहक वर्गमा कम्पनीले उपलब्ध गराउँदै आएका विभिन्न सेवा–सुविधाको प्रचारप्रसार तथा ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।
प्रकाशित: २५ भाद्र २०८३, बिहीबार