ह्वावे मेट एक्सटी २ सार्वजनिक, लजिकफोल्डिङ ताउ चिपसहितको पहिलो ट्राइ-फोल्ड स्मार्टफोन

  • Technology Khabar | २३ भाद्र २०८३, मंगलवार
ह्वावे मेट एक्सटी २ सार्वजनिक, लजिकफोल्डिङ ताउ चिपसहितको पहिलो ट्राइ-फोल्ड स्मार्टफोन

काठमाडौं ।

ह्वावेले आफ्नो नयाँ ट्राइ-फोल्ड स्मार्टफोन ह्वावे मेट एक्सटी २ | अल्टिमेट डिजाइन सार्वजनिक गरेको छ। सेप्टेम्बर ७ मा सार्वजनिक गरिएको यो स्मार्टफोन लजिकफोल्डिङ ताउ (τ) चिप प्रयोग गर्ने पहिलो स्मार्टफोन बनेको कम्पनीले जनाएको छ। यससँगै लजिकफोल्डिङ ताउ चिप पहिलोपटक ठूलो व्यावसायिक उत्पादनमा प्रवेश गरेको छ।

नयाँ फोनमा दुवैतर्फबाट खुल्ने ‘विङ’ आकारको ट्राइ-फोल्ड डिजाइन प्रयोग गरिएको छ। चिनियाँ सौन्दर्यशास्त्रबाट प्रभावित यसको पछाडिको भागमा ‘ब्रोकेड क्लाउड’ प्रविधिबाट क्लाउड प्याटर्न बनाइएको छ। फोन पर्पल, ह्वाइट र ब्ल्याक गरी तीन रंगमा उपलब्ध हुनेछ।

क्यामरा रिङमा १,८०० डिग्री सेल्सियसमा प्रशोधन गरिएको यट्रियम क्रिस्टल प्रयोग गरिएको छ भने आठ चरणको पोलिसिङबाट ३३ वटा ‘स्टार डायमन्ड’ फेसट बनाइएको कम्पनीले जनाएको छ।

मेट एक्सटी २मा शुआनवु अल्ट्रा-ड्युरेबल ट्राई-फोल्ड आर्किटेक्चर प्रयोग गरिएको छ। यसले हिन्ज र स्क्रिनको संरचनालाई पुनः डिजाइन गरी फोनलाई थप मजबुत बनाएको दाबी गरिएको छ। यो आईपी ५८/५९ धुलो तथा पानी प्रतिरोध क्षमता प्राप्त गर्ने पहिलो ट्राइ-फोल्ड स्मार्टफोन भएको ह्वावेको भनाइ छ।

कभर स्क्रिनमा शुआनवु कुनलुन ग्लास प्रयोग गरिएको छ। यसले दैनिक प्रयोगका क्रममा हुने स्क्र्याच र सामान्य प्रभावबाट स्क्रिनलाई जोगाउनुका साथै प्रत्यक्ष घाममा पनि स्पष्ट दृश्य देखाउन एन्टी-ग्लेयर प्रविधि प्रयोग गर्छ। मुख्य स्क्रिनमा यूटीजी ग्लास, एयरोस्पेस-ग्रेड अल्ट्रा-थिन स्टिल र कार्बन फाइबर सपोर्ट लेयरसहितको बहु-तह संरचना छ।

फोनमा नयाँ किरिन ९०५० प्रो चिपसेट प्रयोग गरिएको छ। हार्डवेयर, सफ्टवेयर, चिप र क्लाउडबीचको सहकार्यबाट अघिल्लो पुस्ताको तुलनामा समग्र उपकरण प्रदर्शन ४२ प्रतिशतले सुधार भएको कम्पनीको दाबी छ। लिङ्क्सिकोर सीपीयू र ह्वावे आर्क इन्जिनले ठूला फाइल लोड गर्ने तथा एकैपटक धेरै एप चलाउने कार्यलाई तीव्र बनाउने बताइएको छ।

यसमा मालेउन जीपीयूका कम्प्युटिङ युनिट र क्यास दोब्बर बनाइएको छ। गेमिङका क्रममा यसले हार्डवेयर-स्तरको रियल-टाइम रे ट्रेसिङमा ५० एमआरपीएस समर्थन गर्ने कम्पनीले जनाएको छ।

दा भिन्ची आर्किटेक्चर एनपीयू मार्फत डिभाइसमा हुने एआई कम्प्युटिङ क्षमता पनि बढाइएको छ। फोनले पहिलोपटक पाङ्गु ३०बी-एटूबी एङ्गओई ठूलो भाषा मोडेललाई नेटिभ रूपमा समर्थन गर्ने र सेलियामार्फत डिभाइसमै एआई एल्बम व्यवस्थापनजस्ता सुविधा उपलब्ध हुने बताइएको छ।

फोनमा तीन फ्रेममा ताप स्रोत वितरण गर्ने नयाँ कुलिङ प्रणाली छ। अल्ट्रा-लार्ज भेपर चेम्बर र उच्च ताप चालकता भएको ग्राफिन सामग्रीको प्रयोगबाट ताप व्यवस्थापन गरिएको छ। ३२ वटा वितरित एन्टेनासहितको सञ्चार प्रणालीले फाइभए कनेक्टिभिटी उपलब्ध गराउने कम्पनीको दाबी छ। यसले तियानतङ स्याटेलाइट कम्युनिकेसन र बेइदोउ स्याटेलाइट मेसेजिङ पनि समर्थन गर्छ।

मेट एक्सटी २ मा फोल्डेबल डिभाइसका लागि पहिलो स्मार्ट शिल्ड प्राइभेसी स्क्रीन ल्याइएको छ। हार्डवेयर-स्तरको गोपनीयता सुरक्षा प्रदान गर्ने यो प्रणालीले प्राइभेसी मोड सक्रिय गर्दा पनि स्क्रिन रिजोल्युसन स्थिर राख्ने कम्पनीको भनाइ छ। विमानस्थल तथा रेल स्टेसनमा प्रवेश गर्दा पनि यसले प्राइभेसी मोडको आवश्यकता सम्झाउन सक्नेछ।

फोनमा ईसीजी विश्लेषण सफ्टवेयरसमेत राखिएको छ। कम्पनीका अनुसार यसले एनएमपीए क्लास २ मेडिकल डिभाइस रजिस्ट्रेशन सर्टिफिकेट प्राप्त गरेको छ।

क्यामेरा प्रणालीतर्फ मेट एक्सटी २ मा ट्रु-टू-कलर क्यामरा ३.०  प्रयोग गरिएको छ। इन्फ्रारेड प्रकाशको हस्तक्षेप कम गरेर अघिल्लो पुस्ताको तुलनामा रङ पुनरुत्पादन ९५ प्रतिशतले सुधारिएको कम्पनीको दाबी छ।

यसमा अल्ट्रा-एचडीआर मुख्य क्यामरा, ठूलो एपर्चर भएको पेरिस्कोप टेलिफोटो क्यामरा र अल्ट्रा-वाइड क्यामरा छन्। भिडियो रेकर्डिङमा १८ ईभ सम्मको अल्ट्रा-हाई डाइनामिक रेन्ज समर्थन गर्छ।

नयाँ एक्समेज स्मार्टक्याप्चरले मानिस, दृश्य तथा खानाका दृश्य पहिचान गर्न सक्छ। यसले एआईजीसी मार्फत रियल-टाइम प्रिभ्यु दिँदै फोटोको कम्पोजिसन र प्रकाशसम्बन्धी सुझाव पनि दिनेछ। ट्राइ-फोल्ड डिजाइनका कारण फोनलाई डेस्क-क्यालेन्डर मोडमा राखेर सेल्फी तथा समूह फोटो खिच्न सकिनेछ।

स्मार्टफोनमा नयाँ हार्मोनीओएस ७ प्रयोग गरिएको छ। यसको लाइभ मल्टिटास्क सुविधाले एकैपटक तीनवटा विन्डो समानान्तर रूपमा चलाउन, विन्डोको आकार परिवर्तन गर्न र प्रत्येक विन्डोको भोल्युम छुट्टाछुट्टै नियन्त्रण गर्न सकिने बनाएको छ।

ह्वावे मेट एक्सटी २| अल्टिमेट डिजाइनको सुरुवाती मूल्य १९,९९९ चिनियाँ युआन तोकिएको छ। स्टाइलस सेटसहित फोन बिक्रीमा आउनेछ र आधिकारिक बिक्री सेप्टेम्बर १२ बिहान १०:०८ बजे सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार