क्यान्सर पहिचानमा कुकुर र एआई

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
क्यान्सर पहिचानमा कुकुर र एआई

काठमाडौं ।

कुकुरको तीव्र घ्राणशक्ति र कृत्रिम बौद्धिकता (एआई) को संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास भारतमा अघि बढाइएको छ। बेंगलुरुस्थित स्टार्टअप डोग्नोसिसले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआईमार्फत विश्लेषण गरी गैरआक्रामक परीक्षण विधि विकास गरिरहेको छ।

स्टार्टअपले उद्धार कुकुर ‘क्लो’ सहित १५ कुकुरलाई तालिम दिएको छ। कुकुरलाई सेन्सरयुक्त उपकरण लगाएर मस्तिष्क गतिविधि, श्वासप्रश्वास र शरीरको भाषा अभिलेख गरिन्छ। बिरामीले करिब १० मिनेट कपासको मास्कमा सास फेरेपछि नमूना प्रयोगशालामा लगेर कुकुरमार्फत परीक्षण गरिन्छ। बिरामीको कुकुरसँग प्रत्यक्ष सम्पर्क हुँदैन।

डोग्नोसिसका अनुसार कर्नाटकका छ अस्पतालमा एक हजार पाँच सयभन्दा बढी सहभागीमा गरिएको अध्ययनमा सात प्रमुख प्रकारका क्यान्सर पहिचानमा ९० प्रतिशतभन्दा बढी शुद्धता हासिल भएको छ। अध्ययन ‘जर्नल अफ क्लिनिकल ओन्कोलोजी’ मा प्रकाशित भएको कम्पनीले जनाएको छ। कम्पनीले अर्को वर्ष यसको व्यावसायिक प्रयोग सुरु गर्ने लक्ष्य राखेको छ।

क्यान्सरको प्रारम्भिक पहिचानले उपचारको प्रभावकारिता बढाउन सक्ने भए पनि भारतमा धेरै बिरामीको रोग विकसित भएपछि मात्र पहिचान हुने गरेको छ। त्यसैले कुकुरको घ्राण क्षमतालाई सहज र कम खर्चिलो प्रारम्भिक परीक्षणका रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ।

स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले भने प्रारम्भिक परिणामलाई आशाजनक भए पनि थप ठूलो अध्ययन आवश्यक रहेको बताएका छन्। रमैया मेमोरियल अस्पतालका सन्तोष कुमार देवदास र मणिपाल अस्पतालका नीलेश रेड्डीले प्रविधिको वास्तविक चिकित्सकीय उपयोगिता थप अनुसन्धानबाट पुष्टि हुनुपर्ने बताए।

मानिसको तुलनामा कुकुरमा करिब ३० करोड घ्राण रिसेप्टर हुने र रोगका कारण शरीरबाट निस्कने रसायनमा हुने परिवर्तनले विशेष गन्ध सिर्जना गर्न सक्ने अनुसन्धानले देखाएको छ। यही क्षमतालाई एआईसँग जोडेर क्यान्सर पहिचानको नयाँ विधि विकास गर्न खोजिएको हो।

डोग्नोसिसले कुकुरलाई सकारात्मक प्रोत्साहनमार्फत विशेष गन्ध पहिचान गर्न तालिम दिने गरेको छ। कुकुरलाई दिनमा करिब ३० देखि ४५ मिनेट मात्र काम गराइने कम्पनीले जनाएको छ। विज्ञहरूले प्रविधि सम्भावनायुक्त भए पनि व्यापक चिकित्सकीय प्रयोगअघि थप स्वतन्त्र र ठूलो अध्ययनबाट यसको प्रभावकारिता पुष्टि गर्नुपर्नेमा जोड दिएका छन्।-रासस

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार