काठमाडौं ।
नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ आरभीएक्स सार्वजनिक गरेको छ।
उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र व्यक्तिगत पहिचानलाई समान रूपमा रोज्ने पुस्ताका लागि डिजाइन गरिएको आरभीएक्सले नेपालमा विद्युतीय गतिशीलताको नयाँ अध्यायको सुरुवात गरेको कम्पनीको बुझाइ छ।
आरभीएक्स सीमित अवधिको लागि ३ लाख ९९ लाखको सुरुवाती मूल्यमा सार्वजनिक गरिएको छ। नाडा अटो शो २०२६ मा रहेको रिभोल्ट पेभिलियन तथा काठमाडौंको पानीपोखरी स्थित रिभोल्टको फ्ल्यागसिप शोरुममा बुकिङ र टेस्ट राइड खुला भइसकेको छ। नेपालभरि विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्क मार्फत छिट्टै यसको डेलिभरी सुरु गरिनेछ।
कम्पनीका अनुसार आरभीएक्स नयाँ पुस्ताका राइडरहरूलाई ध्यानमा राखेर तयार पारिएको हो। यसले नेपालको बाटो, भू–बनावट र जलवायु अनुकूल हुने गरी रोमाञ्चक पर्फर्मेन्स, उन्नत कनेक्टिभिटी र कम सञ्चालन खर्चलाई एउटै प्याकेजमा समेटेको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भने, ‘नेपालमा सुरुवातदेखि नै रिभोल्टले पाएको प्रतिक्रिया निकै उत्साहजनक छ। नेपाली राइडरहरूका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याइरहने हाम्रो प्रतिबद्धताको नतिजा आरभीएक्स हो। यो शक्तिशाली, स्मार्ट र हाम्रा युवा पुस्ताले रोज्ने राइडिङ शैली अनुसार निर्माण गरिएको छ। इन्धनको बढ्दो मूल्य र वातावरणीय चेतनाका बीच आरभीएक्सले कार्यक्षमता वा शैलीमा कुनै सम्झौता नगरी दिगो र किफायती विकल्प प्रदान गर्छ।’
रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले भनिन्, ‘नेपाल रिभोल्ट मोटर्सका लागि एक महत्त्वपूर्ण रणनीतिक बजार हो र आरभीएक्सले हाम्रो इन्जिनियरिङ र नवप्रवर्तनको उत्कृष्ट रूपलाई प्रतिनिधित्व गर्छ। उनीहरू प्रविधिले आफूलाई प्रेरित गरोस् र आफ्नो पहिचान झल्काओस् भन्ने चाहन्छन्। आरभीएक्सले यही भावनालाई आत्मसात् गरेको छ । एमभी दुगड ग्रुपसँगको सहकार्यमा यसले नेपालमा पर्फर्मेन्स इलेक्ट्रिक बाइकको नयाँ मानक स्थापित गर्नेमा हामी विश्वस्त छौं।’
आरभीएक्समा नयाँ ४ किलोवाट मिड–ड्राइभ पीएमएसएम मोटर रहेको छ, जसले ५.३ किलोवाटको पिक आउटपुट र ह्विलमा २३० एनएमसम्मको टर्क प्रदान गर्छ।
यो रिभोल्ट मोटर्सद्वारा निर्माण गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बाइक हो। यसले मात्र ३.९ सेकेन्डमा ० देखि ४० किमी प्रतिघण्टाको गति लिन्छ भने बिल्कुलै नयाँ बुस्ट मोडमा ९० किमी प्रतिघण्टाको अधिकतम गति प्राप्त गर्छ।
कम्पनीका अनुुसार आरभीएक्समा ३.२४ किलोवाटको निकाल्न मिल्ने एनएमसी ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा १६० किलोमिटरको आइडीसी रेन्ज दिन्छ।
फास्ट चार्जरको प्रयोग गरी यसलाई मात्र ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। रिमुभेबल ब्याट्री डिजाइनका कारण सामान्य घरायसी सकेटबाट पनि जुनसुकै ठाउँमा सजिलै चार्ज गर्न सकिन्छ।
प्रकाशित: १० भाद्र २०८३, बुधबार