फ्लिपकार्ट भारतको क्विक–कमर्स बजारका अग्रणी कम्पनीको नजिक

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
फ्लिपकार्ट भारतको क्विक–कमर्स बजारका अग्रणी कम्पनीको नजिक

काठमाडौं ।

भारतीय स्टार्टअपहरूले उपभोक्तालाई किराना तथा दैनिक आवश्यक सामान केही मिनेटमै घरमा आइपुग्ने सेवाको बानी बसाल्न वर्षौं लगाएका छन्।

अहिले वालमार्टको स्वामित्वमा रहेको फ्लिपकार्ट ती क्विक–कमर्स कम्पनीसँगको दूरी तीव्र रूपमा घटाउँदैछ। यसैबीच, विश्वव्यापी प्रतिस्पर्धी अमेजनले पनि तत्काल डेलिभरी सेवामा आफ्नो विस्तार बढाइरहेको छ।

ई–कमर्स कम्पनीको क्विक–कमर्स क्षेत्रमा प्रवेशका रूपमा अगस्ट २०२४ मा सुरु भएको फ्लिपकार्ट मिनेट्सले अहिले दैनिक ११ लाखदेखि १२ लाखसम्म अर्डर डेलिभर गरिरहेको छ। यो संख्या नोभेम्बरमा करिब ३ लाख ९० हजारदेखि ४ लाखसम्म थियो।

यस विषयमा जानकार व्यक्तिहरूले टेकक्रन्चलाई यस्तो जानकारी दिएका हुन्। यससँगै दुई वर्ष पुरानो यो सेवा स्विगीको इन्स्टामार्टको नजिक पुगेको छ। एक जानकार व्यक्तिका अनुसार इन्स्टामार्टले दैनिक करिब १४ लाख अर्डर डेलिभर गरिरहेको छ।

फ्लिपकार्ट यस्तो बजारमा तुलनात्मक रूपमा ढिलो प्रवेश गरेको कम्पनी हो, जहाँ इन्स्टामार्ट, ब्लिन्किट र जेप्टोले लामो समयदेखि अग्रता कायम गर्दै आएका छन्। खाना डेलिभरी कम्पनी स्विगीले सन् २०२० मा इन्स्टामार्ट सुरु गरेको थियो भने जेप्टो अर्को वर्ष बजारमा आएको थियो।

यी दुवै सेवा कोरोना महामारीका समयमा सुरु भएका थिए। ब्लिन्किटको सुरुवात भने सन् २०१३ मा स्थापना भएको अनलाइन किराना प्लेटफर्म ग्रोफर्सबाट भएको थियो। यी तीन कम्पनीले पछि भारतका प्रमुख क्विक–कमर्स कम्पनीका रूपमा आफूलाई स्थापित गरेका छन्।

बजार अनुसन्धान कम्पनी डेटम इन्टेलिजेन्सका पछिल्ला अनुमानअनुसार ब्लिन्किटले दैनिक करिब ३४ लाखदेखि ३६ लाख अर्डरसहित बजारमा अग्रता कायम गरेको छ। त्यसपछि जेप्टोले करिब २४ लाखदेखि २६ लाख अर्डर प्राप्त गरिरहेको छ। फ्लिपकार्टले भने अर्डर संख्याका आधारमा स्थापित तीन प्रमुख कम्पनीमध्ये सबैभन्दा सानो इन्स्टामार्टसँगको दूरी तीव्र रूपमा घटाइरहेको छ।

टेकक्रञ्चका अनुसार इन्स्टामार्टको सेवा भने अझै ठूलो स्तरमा सञ्चालन भइरहेको छ। यसै महिनाको सुरुवातमा स्विगीले क्विक–कमर्स सेवामा मासिक १ करोड ४० लाखभन्दा बढी कारोबार गर्ने प्रयोगकर्ता रहेको जनाएको थियो। इन्स्टामार्टले १३० भन्दा बढी सहरमा १ हजार २०० भन्दा बढी डार्क स्टोर सञ्चालन गरिरहेको छ।

कम्पनीले इन्स्टामार्टको योगदान–मार्जिन घाटा पनि घटाउँदै आएको छ। अहिले यसको डार्क स्टोर नेटवर्कमध्ये ४५ प्रतिशतभन्दा बढी योगदान–मार्जिनका आधारमा नाफामा छन्।

यद्यपि, फ्लिपकार्टले आफ्नो डेलिभरी पूर्वाधार आक्रामक रूपमा विस्तार गरेर यो वृद्धि हासिल गरेको हो। मिनेट्सले अहिले करिब १ हजार २० देखि १ हजार ५० वटा माइक्रो–फुलफिलमेन्ट सेन्टर सञ्चालन गरिरहेको छ। यी ग्राहकको नजिक रहेका साना गोदाम हुन्, जसलाई विशेषगरी छिटो डेलिभरीका लागि प्रयोग गरिन्छ।

जनवरीमा यस्ता केन्द्रको संख्या ६०० र एक वर्षअघि करिब ३४० थियो। कम्पनीले प्रत्येक महिना करिब १०० यस्ता केन्द्र थपिरहेको एक स्रोतले टेकक्रन्चलाई बताएको छ। फ्लिपकार्टले सन् २०२६ को अन्त्यसम्ममा यस्ता केन्द्रको संख्या १ हजार ५०० पुर्‍याउने लक्ष्य राखेको छ।

फ्लिपकार्टको फाइदा डार्क स्टोर थप्नुमा मात्र सीमित छैन। कम्पनीले यसअघि नै वर्षौं र अर्बौं डलर खर्च गरेर बनाएको ठूलो ई–कमर्स ग्राहक आधारलाई प्रयोग गर्न सक्छ। यसले मिनेट्सलाई छिटो डेलिभरीका लागि तयार ग्राहक आधार उपलब्ध गराएको डेटम इन्टेलिजेन्सका सल्लाहकार सतीश मीनाले टेकक्रन्चलाई बताए।

“फ्लिपकार्ट पहिले नै गम्भीर प्रतिस्पर्धी हो,” मीनाले भने। “एकपटक १ हजार डार्क स्टोर सञ्चालन गरेर दैनिक १० लाख अर्डर गर्न थालेपछि यो पर्याप्त ठूलो खेलाडी हुन्छ।”

मिनेट्समा ग्राहकहरू पुनः फर्किएर किनमेल गर्ने र बढी पटक सामान खरिद गर्ने क्रम पनि बढेको छ। यस सेवामा प्रत्येक महिना खरिद गर्ने ग्राहकहरूमध्ये करिब ६५ देखि ७० प्रतिशत दोहोरिएर खरिद गर्ने ग्राहक छन्। त्यस्तै, प्रतिग्राहक कारोबार अघिल्लो वर्षको तुलनामा ५० देखि ६० प्रतिशतले बढेको यस विषयमा जानकार व्यक्तिहरूले बताएका छन्।

यी ग्राहकले प्रतिअर्डर औसत करिब ४०० देखि ५०० भारतीय रुपैयाँ अर्थात् करिब ४.२० देखि ५.२० अमेरिकी डलर खर्च गरिरहेका छन्। फलफूल तथा तरकारी, दैनिक उपभोग्य सामान, डेरी र मासु तीव्र रूपमा बढिरहेका वर्गमध्ये रहेका स्रोतहरूले बताएका छन्।

मिनेट्समार्फत ग्राहकको थप खर्च आकर्षित गर्न फ्लिपकार्टले अर्गानिक तथा हस्तनिर्मित उत्पादनसहित उच्चस्तरीय गउरमेट सामग्रीको छनोट पनि विस्तार गरिरहेको छ।

मिनेट्सको विस्तारसँगै यसको औसत डेलिभरी समय पनि एक वर्षअघिको १३ मिनेटबाट घटेर अहिले करिब ११ मिनेटमा आएको एक स्रोतले टेकक्रन्चलाई बताएको छ।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार