काठमाडौं ।
पचास वर्षे ऐतिहासिक यात्रा पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
नाडाले आगामी भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५ देखि ३०) काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा स्वर्ण जयन्ती संस्करणका रूपमा अटो शो आयोजना गर्न लागेको हो।
सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायी मिलेर स्थापना भएको नाडाले पाँच दशक पूरा गरेको अवसरमा आयोजना गर्न लागेको यो प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्।
भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधन ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधन ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारीसाधन ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।
त्यस्तै, सवारीसाधनका पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० वटा कम्पनी सहभागी हुनेछन्। प्रदर्शनीमा १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहने नाडाले जनाएको छ।
पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले उल्लेख्य विस्तार गरेको छ। हालसम्म नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।
यसैगरी हरित गतिशीलतातर्फ नेपाल अघि बढ्दै गर्दा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। विद्युतीय सवारीसाधनका लागि देशभर करिब २ हजार चार्जिङ स्टेसनको सञ्जालसमेत तयार भइसकेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो एउटा संस्थाको मात्र उत्सव नभई समग्र अटोमोबाइल उद्योगको योगदानको लेखाजोखा गर्ने अवसर भएको बताएका छन्।
“पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छ’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,” अध्यक्ष उप्रेतीले भने।
नाडाका अनुसार नेपालमा अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा समग्र आर्थिक गतिविधिको प्रमुख संवाहकका रूपमा विकास गर्न संस्थाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको छ।
नाडाले आफ्नो ५० वर्षे यात्राको यो ऐतिहासिक अवसरले नेपाली सडक तथा यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ दिशा दिने अपेक्षा गरेको छ।
प्रकाशित: ४ भाद्र २०८३, बिहीबार