काठमाडौं ।
हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्यूआर कोड सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आधार शिविरको पदयात्राका लागि जाने पर्यटकको सुरक्षा र सूचना तथा जानकारी सहज तरिकारले उपलब्ध गराउन क्यूआर कोडमार्फत पदयात्रीले अन्नपूर्ण आधार शिविरको सम्पूर्ण जानकारी लिन सक्ने बनाएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आठ हजार ९१ मिटर उचाइमा छ।
क्यूआर कोडमार्फत अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
क्यूआर कोड मोबाइलमा स्क्यान गरेपछि प्रहरी कार्यालय, फोन नम्बर, होटेलको जानकारी, आधार शिविर जान लाग्ने समय, पदमार्गको अवस्था, नारच्याङको बेसीगाउँदेखि पदमार्ग सुरु हुने हुमखोलासम्मको सडकको अवस्था र सञ्चालन हुने यातायात साधनको नम्बरसहितको सम्पूर्ण विवरण हेर्न सकिने छ।
धेरै पर्यटकले आधार शिविरका बारेमा प्रहरी कार्यालयमा फोन गरेर जानकारी लिने गरेकाले पर्यटकको सहजताका लागि क्यूआर कोड सञ्चालन गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयकै जनशक्ति र क्षमता उपयोग गरेर क्युआर कोड विकास गरिएको उनले बताए। उक्त क्यूआर कोडलाई बेनीको बसपार्क, भुरुङ तातोपानी, अन्नपूर्ण आधार शिविर जाने मौसिरस हर्जोग पदमार्ग र ठुला पर्यटकीय होटलहरूमा टाँसिने सूचना अधिकारी तिमिल्सिनाले बताए।
पछिल्लो समय अन्नपूर्ण आधार शिविर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। गोरखापत्रबाट
प्रकाशित: ४ भाद्र २०८३, बिहीबार