बैंकको केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • Technology Khabar | २ भाद्र २०८३, मंगलवार
बैंकको केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
बिङ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

बैंकको केवाईसी अपडेट गर्नुपर्ने भन्दै बैंकका ग्राहक तथा सेवानिवृत्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने समूहका चार जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीका अनुसार पक्राउ पर्नेहरूमा बारा देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगन्ज महानगरपालिका–३ का २९ वर्षीय कुबेर थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बैंकको केवाईसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई फोन तथा ह्वाट्सएपमा सम्पर्क गर्ने गरेका थिए। त्यसपछि स्क्रिन सेयर गर्न लगाउने, ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड माग्ने र पीडितको बैंक खातामा पहुँच पुर्‍याई रकम अन्य खातामा स्थानान्तरण गरेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साइबर ब्युरोले गरेको प्राविधिक विश्लेषणबाट पहिचान भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

ब्यूरोले बैंकको केवाईसी अपडेट, खाता नवीकरण वा अन्य बैंकिङ सेवाका नाममा अपरिचित व्यक्तिले फोन तथा सन्देशमार्फत ओटीपी, पासवर्ड, बैंकिङ विवरण वा स्क्रिन सेयर गर्न आग्रह गरेमा त्यस्तो विवरण उपलब्ध नगराउन सचेत गराएको छ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाले फोन वा सामाजिक सञ्जालमार्फत ओटीपी माग्ने वा ग्राहकको मोबाइल स्क्रिन सेयर गर्न लगाउने नगर्ने भएकाले यस्ता गतिविधिप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...