काठमाडौं ।
पछिल्लो १८ महिनामा र्याम को मूल्य निकै बढेको छ र यो वर्षको बाँकी अवधिमा पनि मूल्य बढिरहने अपेक्षा गरिएको छ। सन् १९६० को दशकदेखि लगातार सस्तो हुँदै आएको वस्तुको मूल्य अहिले यसरी तीव्र रूपमा बढ्नु असामान्य हो।
त्यसैले अहिलेको अवस्थालाई ‘र्यामपोक्यालिप्स’ भन्न थालिएको छ। कुनै समय सस्तो मानिने र्याम अहिले महँगो वस्तु बनेको छ। यही कारण अब आउने नयाँ फोन, पीसी र ट्याब्लेटका लागि उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था बनेको छ।
र्याम अर्थात् र्यान्डम एक्सेस मेमोरी हरेक कम्प्युटरको महत्वपूर्ण हिस्सा हो। यसले कम्प्युटरलाई डेटा पढ्न र त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्छ। काम गर्न सीपीयूलाई निरन्तर सूचना आवश्यक हुन्छ। यो सूचना हार्ड ड्राइभमा भण्डारण हुन्छ। हार्ड ड्राइभ जतिसुकै छिटो भए पनि सीपीयू लाई आवश्यक गतिमा डेटा उपलब्ध गराउन पर्याप्त हुँदैन।
इन्ग्याजेटका अनुसार र्यामले स्टोरेज र सीपीयू बीचमा काम गर्छ। यसले स्टोरेजबाट फाइल तानेर सीपीयू ले प्रयोग गर्न तयार अवस्थामा राख्छ। कम्प्युटरमा जति धेरै र्याम हुन्छ, त्यति धेरै डेटा सीपीयू का लागि तयार अवस्थामा राख्न सकिन्छ। यही कारण कम्प्युटर सुस्त हुँदा धेरै र्याम थप्नु कहिलेकाहीँ छिटो प्रोसेसर राख्नुभन्दा प्रभावकारी हुन्छ।
विश्वको अधिकांश र्याम उत्पादन गर्ने मुख्य तीन कम्पनी सामसङ, एसके हाइनिक्स र माइक्रोन हुन्। यी प्रत्येक कम्पनीले अर्बौं डलर मूल्यका उत्पादन कारखाना सञ्चालन गर्छन्।
र्याम विभिन्न प्रविधिमा उपलब्ध हुन्छ। उपभोक्ता इलेक्ट्रोनिक्समा मुख्य रूपमा डीर्याम प्रयोग हुन्छ। यसअन्तर्गत पीसीका लागि डीडीआर (डबल डेटा रेट) र मोबाइल उपकरणका लागि एलपीडीडीआर (लो पावर डीडीआर) प्रयोग गरिन्छ।
तर र्यामको अर्को प्रकार एचबीएम (हाई ब्यान्डविथ मेमोरी) पनि छ। यो उच्च क्षमताको कम्प्युटिङका लागि बनाइएको हो। एचबीएम सामान्य डीडीआर भन्दा धेरै उन्नत र तीव्र हुन्छ तथा यसमा धेरै मेमोरी राख्न सकिन्छ। यसको गति र क्षमताका कारण डाटा सेन्टर र एआई प्रशिक्षणमा यसको प्रयोग भइरहेको छ।
डीर्याम र एचबीएम एकअर्काको विकल्प होइनन्। तर दुवै एउटै प्रकारका सिलिकन वेफरबाट बनाइन्छन्। प्रयोगअनुसार तिनलाई फरक तरिकाले तयार गरिन्छ। एचबीएम उत्पादनमा भने धेरै स्रोत आवश्यक पर्छ।
माइक्रोनका प्रमुख कार्यकारी अधिकृत सञ्जय मेहरोत्राले सन् २०२४ मा लगानीकर्तालाई दिएको जानकारीअनुसार एचबीएम को एउटा युनिट उत्पादन गर्न उपभोक्ता स्तरको डीडीआर५ र्याम को तुलनामा करिब तीन गुणा वेफर आपूर्ति आवश्यक पर्छ। यसको अर्थ विश्वमा उत्पादन हुने प्रत्येक एचबीएम का लागि तीनवटा डीर्याम मोड्युल उत्पादन गर्न सकिने स्रोत र उत्पादन क्षमता प्रयोग भइरहेको छ।
र्याम को मूल्यमा आएको वृद्धि पनि ठूलो छ। उत्पादनको मूल्यसम्बन्धी तथ्यांक राख्ने पीपीपार्टपिकरका अनुसार सन् २०२५ को सुरुवातमा दुईवटा १६ जीबी डीडीआर५-४८०० स्टिकको मूल्य १०० डलरभन्दा कम थियो। अहिले यसको मूल्य ४०० डलरभन्दा बढी पुगेको छ।
त्यस्तै, ३२ जीबी उच्चस्तरीय डीडीआर५-६००० को मूल्य पहिले २५० डलरभन्दा कम थियो। अहिले यसको मूल्य १,२०० डलरभन्दा बढी पुगेको छ। यो मूल्य एउटा म्याकबुक एयरको मूल्यबराबर हो। र्याम को मूल्य यति धेरै बढ्नुको छोटो उत्तर हो—एआई।
एआई कम्पनीहरूले लगानीकर्ताबाट ठूलो रकम पाएपछि विश्वभर उपलब्ध र्याम को ठूलो हिस्सा खरिद गरिरहेका छन्।
विगत करिब दुई दशकदेखि विश्वको र्याम बजार तुलनात्मक रूपमा अनुमान गर्न सकिने अवस्थामा थियो। समयसँगै फोन र कम्प्युटरमा बढी र्याम आवश्यक भए पनि हरेक वर्ष आवश्यक पर्ने र्याम मोड्युलको कुल मात्रा तुलनात्मक रूपमा स्थिर रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।
उद्योगले हरेक वर्ष कति फोन र पीसी बिक्री हुन्छन् तथा प्रयोगकर्ताले कति समयमा उपकरण अपग्रेड गर्छन् भन्ने अनुमान गर्न सक्थ्यो। मागमा हुने ठूला परिवर्तनबारे पनि कम्पनीहरूले पहिले नै जानकारी पाउने गर्थे।
उदाहरणका लागि माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम ल्याउँदा त्यसका लागि बढी प्रणाली आवश्यकता पर्ने भए पीसी निर्माताले अतिरिक्त र्यामको आपूर्ति पहिले नै अर्डर गर्न सक्थे।
क्लाउड डाटा सेन्टरजस्ता नयाँ माग आए पनि उद्योगले अहिलेसम्म त्यसलाई व्यवस्थापन गर्न सकेको थियो। तर एआईका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधारको तीव्र विस्तारले र्याम बजारको आपूर्ति र मागबीच ठूलो असन्तुलन सिर्जना गरेको छ।
प्रकाशित: २ भाद्र २०८३, मंगलवार