काठमाडौं ।
कुनै समय मोबाइलबाट फोन गर्नु र एसएमएस पठाउनु नै सञ्चारको मुख्य माध्यम थियो। अहिले स्मार्टफोनमा इन्टरनेट जोडिएपछि सञ्चारको त्यो बानी तीव्र रूपमा बदलिएको छ।
फोन कल र एसएमएसका लागि छुट्टै शुल्क तिर्नुभन्दा इन्टरनेटमार्फत चल्ने ओटीटी (ओभर द टप) सेवाबाट कल तथा सन्देश पठाउने क्रम बढेको छ। यसको प्रत्यक्ष असर नेपालको परम्परागत दूरसञ्चार व्यवसायमा परेको एक अध्ययनले देखाएको छ।
साइन्सडिरेक्ट जर्नलमा प्रकाशित त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङका मधु सुदन दाहालले गरेको अध्ययन ‘टेलिकम्स अन्डर प्रेसर: एनालाइजिङ द ट्रिपल थ्रेट अफ ओटीटी, हाइ फीज/ ट्याक्सेज एण्ड पोलिसी ग्याप्स इन नेपाल’ ले सन् २०१४ देखि २०२४ सम्म नेपालको दूरसञ्चार क्षेत्रमा भएको परिवर्तनलाई विश्लेषण गरेको हो।
अध्ययनले ओटीटी सेवाको विस्तारसँगै परम्परागत भ्वाइस सेवाको प्रयोग र आम्दानीमा उल्लेख्य गिरावट आएको देखाएको छ।
अध्ययनअनुसार उक्त अवधिमा सक्रिय भ्वाइस प्रयोगकर्ता ६२.६ प्रतिशतले घटेका छन्। भ्वाइस ट्राफिक ८४.१३ प्रतिशतले घट्दा भ्वाइसबाट हुने आम्दानी ३७.४ प्रतिशतले घटेको छ। अर्कोतर्फ, मोबाइल डाटा खपत ८३३ प्रतिशतभन्दा बढीले बढेको छ। तर डाटा खपतमा भएको तीव्र वृद्धिअनुसार त्यसबाट हुने आम्दानी भने बढ्न सकेको छैन।
यसले नेपालको दूरसञ्चार व्यवसायमा एउटा नयाँ विरोधाभास देखाएको छ—मानिसले पहिलेभन्दा धेरै मोबाइल डाटा प्रयोग गरिरहेका छन्, तर त्यही डाटा बेच्ने दूरसञ्चार कम्पनीको आम्दानीमा त्यसअनुसार वृद्धि भएको छैन।
अध्ययनले सन् २०१४ देखि २०२४ बीच भ्वाइस सेवाको आम्दानी ३७.४ प्रतिशत घटेको र डेटा खपत ८३३ प्रतिशत बढेको देखाएको छ। डाटा सेवाको एकाइ मूल्यमा भने ९६.८ प्रतिशतसम्म गिरावट आएको अध्ययनमा उल्लेख छ।
यसको एउटा प्रमुख कारण ओटीटी सेवाको विस्तार हो। ओटीटी प्लेटफर्मले आफ्नै दूरसञ्चार पूर्वाधार निर्माण नगरी टेलिकम कम्पनीले उपलब्ध गराएको इन्टरनेट पूर्वाधार प्रयोग गर्छन्। तर प्रयोगकर्तालाई भ्वाइस र म्यासेजिङ सेवा सोही इन्टरनेटमार्फत उपलब्ध गराउँछन्। यसले परम्परागत भ्वाइस र एसएमएस सेवाको बजारलाई प्रत्यक्ष रूपमा प्रभावित गरेको अध्ययनको निष्कर्ष छ।
अध्ययनले ओटीटीको बढ्दो प्रयोग र दूरसञ्चार क्षेत्रको प्रदर्शनबीच बलियो सम्बन्धसमेत देखाएको छ। ओटीटीको विस्तार र भ्वाइस आम्दानीबीचको सम्बन्ध नकारात्मक ०.९१ तथा ओटीटी र औसत प्रतिग्राहक आम्दानी (एआरपीयू) बीचको सम्बन्ध नकारात्मक ०.८८ रहेको छ।
परम्परागत भ्वाइस सेवाको प्रयोग घटेको तथ्य अन्तर्राष्ट्रिय कलमा पनि देखिन्छ। अध्ययनअनुसार नेपालमा दैनिक अन्तर्राष्ट्रिय आगमन कलको समय सन् २०१२ मा १२.३४ मिलियन मिनेट रहेकोमा सन् २०२४ मा १.६५ मिलियन मिनेटमा झरेको छ।
त्यस्तै, प्रतिग्राहक दैनिक भ्वाइस खपत सन् २०१६ मा १.०५ एर्लाङबाट सन् २०२४ मा ०.३७ एर्लाङमा झरेको छ। अध्ययनले यसलाई प्रयोगकर्ताहरू परम्परागत भ्वाइस सेवाबाट ओटीटीतर्फ सर्दै गएको संकेतका रूपमा व्याख्या गरेको छ।
तर डाटा खपत भने निरन्तर बढेको छ। सन् २०२४ मा प्रतिग्राहक मासिक डेटा खपत ४.२ जीबी पुगेको अध्ययनमा उल्लेख छ।
दूरसञ्चार कम्पनीको आम्दानी संरचनामा आएको परिवर्तन पनि उल्लेखनीय छ। सन् २०१४ मा भ्वाइस आम्दानी कुल आम्दानीको करिब ९५ प्रतिशत थियो। सन् २०२४ मा यसको हिस्सा ५९ प्रतिशतमा झरेको छ। सोही अवधिमा डेटा आम्दानीको हिस्सा ३७ प्रतिशत पुगेको छ भने एसएमएस तथा भ्यालु एडेड सर्भिसको हिस्सा ४ प्रतिशत रहेको छ।
डाटा प्रयोग बढे पनि त्यसको मूल्य निरन्तर घटेको छ। अध्ययनअनुसार सन् २०२४ मा भ्वाइसको एकाइ मूल्य १९.८५ रुपैयाँ र डाटाको ०.०३ रुपैयाँ थियो। सन् २०१७ देखि २०२४ बीच डाटा शुल्क करिब २६ गुणा र भ्वाइस शुल्क २.१८ गुणाले घटेको अध्ययनमा उल्लेख छ।
दूरसञ्चार क्षेत्रको यो परिवर्तनले कम्पनीहरूको लगानी क्षमतामा पनि असर पारेको अध्ययनको निष्कर्ष छ। सन् २०१४ मा राजस्वको करिब १८ प्रतिशत पूर्वाधारमा लगानी हुने गरेको अनुमान गरिएकोमा सन् २०२४ मा यो हिस्सा ५ प्रतिशतमा झरेको छ।
अध्ययनले नेपालको दूरसञ्चार संकटलाई ओटीटीको प्रभाव मात्र नभई घट्दो आम्दानी, कम एआरपीयू, बढ्दो सञ्चालन खर्च, पूर्वाधार लगानीको कमी र नियामकीय समस्यासँग जोडेको छ। परम्परागत दूरसञ्चार व्यवसायको पुरानो मोडल वर्तमान बजारमा दिगो नरहेको अध्ययनको निष्कर्ष छ।
-त्रिभुवन विश्वविद्यालय पुल्चोक इञ्जिनीयरिङ क्याम्पस अन्तर्गत इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागका, नेपाल टेलिकमको कर्णाली प्रदेश निर्देशनालयका मधु सुदन दाहालको साइन्सडिरेक्ट जर्नलमा प्रकाशित ‘टेलिकम्स अन्डर प्रेसर: एनालाइजिङ द ट्रिपल थ्रेट अफ ओटीटी, हाइ फीज/ ट्याक्सेज एण्ड पोलिसी ग्याप्स इन नेपाल’ लेखमा आधारित
प्रकाशित: १ भाद्र २०८३, सोमबार