चीनसँगको एआई प्रतिस्पर्धामा साझेदार देशलाई आफ्नो पक्षतिर लाग्न दबाब दिने योजनामा अमेरिका: रिपोर्ट

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
चीनसँगको एआई प्रतिस्पर्धामा साझेदार देशलाई आफ्नो पक्षतिर लाग्न दबाब दिने योजनामा अमेरिका: रिपोर्ट

काठमाडौं ।

अमेरिकाले चीनसँगको कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धामा आफू वा चीनमध्ये एक पक्ष रोज्न दर्जनौँ देशलाई दबाब दिने तयारी गरेको छ। रोयटर्सले अमेरिकी अधिकारी र आफूले प्राप्त गरेको आन्तरिक मस्यौदालाई उद्धृत गर्दै यस्तो जनाएको हो।

अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले आफ्ना साझेदार देशलाई चीनको प्रतिस्पर्धी एआई संरचनामा सहभागी भए अमेरिकी नेतृत्वको एआई गठबन्धनबाट बाहिरिने चेतावनी दिनेछ।

अमेरिकाले गत वर्ष एआई मोडल, सेमिकन्डक्टर र महत्वपूर्ण खनिजको आपूर्ति शृंखला सुरक्षित गर्ने उद्देश्यले ‘प्याक्स सिलिका’ पहल सुरु गरेको थियो। चीनसँगको प्रविधि प्रतिस्पर्धा तीव्र भइरहेका बेला सुरु गरिएको उक्त पहलमा करिब दुई दर्जन देश सहभागी भइसकेका छन्।

यसमा जापान, अस्ट्रेलिया र दक्षिण कोरियाजस्ता अमेरिकाका निकट सहयोगी देश पनि छन्। महत्वपूर्ण खनिजको सम्भावित स्रोतका रूपमा रहेको काजकस्तान पनि यसमा सहभागी छ। तर कजाख्स्तान चीनले अघि सारेको एआई गठबन्धनमा समेत सहभागी भएको छ।

रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले तयार पारेको पत्रको मस्यौदा जुनमा हस्ताक्षर गरिएको अमेरिकी ‘एआई अपर्चुनिटी स्टेटमेन्ट’ का ३५ हस्ताक्षरकर्ता देशलाई लक्षित गरिएको छ। यसमा ‘प्याक्स सिलिका’का सदस्यसँगै अमेरिकासँग एआई सहकार्य गर्न इच्छा देखाएका अन्य देश पनि छन्।

अमेरिकाले देशहरूलाई पक्ष रोज्न दबाब दिएर अत्याधुनिक एआई विकासको प्रतिस्पर्धामा चीनलाई आवश्यक स्रोतबाट टाढा राख्ने प्रयास गरिरहेको छ। यस्तो एआई प्रविधि सैन्य तथा आर्थिक क्षेत्रमा प्रभुत्व कायम गर्न प्रयोग हुन सक्ने अमेरिकी चिन्ता छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले जुलाईमा अमेरिकाको प्रभावलाई चुनौती दिने उद्देश्यले प्रतिस्पर्धी ‘वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेसन अर्गनाइजेसन’ सुरु गरेका थिए। चीनले आफ्नो ‘ओपन–वेट’ एआई प्रविधिलाई यसको प्रमुख आधारका रूपमा अघि सारेको छ।

अहिलेसम्म दुवै पहलमा सहभागी भएको भनेर चिनिएको एक मात्र देश काजकस्तान हो। यसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको छ।

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको पत्रमा ‘सबैको हिस्सा बन्नु भनेको कुनैको पनि हिस्सा नहुनु हो’ भन्दै ‘प्याक्स सिलिका’ घोषणापत्रमा हस्ताक्षर गर्नु केवल सदस्यता लिनु नभई प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ। पत्रमा देशहरूलाई एआईका विषयमा “सोचविचार गरेर छनोट गर्न” आग्रह गरिएको छ।

तर पत्रमा चीनको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन। त्यस्ता प्रतिस्पर्धी पहलमा सदस्यता लिएर ‘प्याक्स सिलिका’मा पनि सहभागी हुन नसकिने पत्रमा उल्लेख छ।

अमेरिकाले उक्त पत्र कहिले पठाउने भन्ने स्पष्ट छैन। पठाउनुअघि यसको मस्यौदा परिवर्तन हुन सक्ने वा नसक्ने पनि निश्चित छैन। अमेरिकी विदेश मन्त्रालयले चुहिएको भनिएको आन्तरिक दस्तावेजबारे टिप्पणी नगर्ने जनाएको छ।

वासिङ्टनस्थित चिनियाँ दूतावासले व्यापार र प्रविधिका विषयलाई राजनीतिकरण गर्ने कार्यको विरोध गरेको छ। दूतावासका प्रवक्ताले यस्ता कदमले विश्वव्यापी एआई विकासलाई रोक्ने र कसैको हित नगर्ने बताएका छन्।

‘प्याक्स सिलिका’ सम्झौताले अमेरिकी सहयोगी तथा साझेदार देशलाई संयुक्त परियोजना र निर्यात नियन्त्रणतर्फ अघि बढाउने तथा महत्वपूर्ण खनिज, एआई मोडल र सेमिकन्डक्टर चिपका लागि प्रतिद्वन्द्वी देशमाथिको निर्भरता घटाउने लक्ष्य राखेको छ।

एआई प्रविधिमा विश्व नेतृत्वका लागि अमेरिका र चीनबीचको प्रतिस्पर्धा निर्णायक चरणमा पुगेको छ। चिनियाँ ‘ओपन–वेट’ एआई मोडलले ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीका स्वामित्वमा रहेका एआई प्रणालीसँगको अन्तर तीव्र रूपमा घटाइरहेका छन्।

एआईको क्षमता तीव्र गतिमा बढ्दै जाँदा यसले स्वायत्त रूपमा साइबर आक्रमण गर्न सक्ने क्षमतासमेत विकास गरिरहेको विषयले विश्वभर यसको प्रभाव र जोखिमबारे बहस बढाएको छ।

अमेरिकी अधिकारीका अनुसार ‘प्याक्स सिलिका’ र चीनले अघि सारेको पहलमध्ये दुवैमा सहभागी भएर देशहरूले एउटै समयमा दुई फरक एआई पारिस्थितिक प्रणालीसँग विश्वसनीय साझेदारी कायम गर्न कठिन हुनेछ।

चीनसँग महत्वपूर्ण खनिजको आपूर्तिमा बलियो पकड छ। गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको शुल्क युद्धमा चीनले महत्वपूर्ण खनिजमाथिको आफ्नो प्रभावलाई दबाबको माध्यमका रूपमा प्रयोग गरेको थियो। त्यसपछि अमेरिकाले आफ्नै देशभित्र र सहयोगी राष्ट्रबाट त्यस्ता खनिजको आपूर्ति बढाउने प्रयास तीव्र पारेको छ।

‘प्याक्स सिलिका’का सदस्यले एआईसम्बन्धी परियोजनामा साझा लगानीका अवसर प्राप्त गर्नेछन्। त्यस्तै, ‘एआई अपर्चुनिटी स्टेटमेन्ट’ मा हस्ताक्षर गर्ने देशले अमेरिकासँग ‘साझा उद्देश्य’ र ‘साझा दृष्टिकोण’मा सहमति जनाएका छन्।

अमेरिकी एक अधिकारीले रोयटर्ससँग भनेका छन्, “दुवै पक्षमा एकैपटक रहन सकिँदैन।” उनका अनुसार एउटै प्रविधि प्रणालीमा विश्वसनीय साझेदार बन्न खोज्ने देशले त्यसको प्रतिस्पर्धी दृष्टिकोण अघि बढाउने चीनको पहलमा समेत सहभागी हुनु विश्वसनीय देखिँदैन।

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार