काठमाडौं ।
सामाजिक सञ्जाल तथा अनलाइनका माध्यमबाट प्रायोजित विज्ञापनमार्फत विभिन्न चर्चित ई–कमर्स प्लेटफर्मको नाम प्रयोग गरी ठगी गर्ने प्रवृत्ति बढेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
साइबर ब्युरो, भोटाहिटी काठमाडौंले सार्वजनिक गरेको सूचनाअनुसार ठगीमा संलग्न व्यक्तिहरूले चर्चित ई–कमर्स प्लेटफर्मको नाम प्रयोग गर्दै ‘टास्क’ का नाममा आकर्षक रकम लगानी गर्न लगाउने गरेका छन्। सुरुमा विभिन्न किसिमका प्रलोभन देखाएर रकम जम्मा गर्न लगाउने र पछि सम्पर्कविहीन हुने वा थप रकम माग्ने प्रवृत्ति देखिएको ब्युरोले जनाएको छ।
ब्युरोले सामाजिक सञ्जालमा देखिने यस्ता प्रायोजित विज्ञापनमा विश्वास गरी हतारमा रकम लगानी नगर्न आग्रह गरेको छ। विशेषगरी चर्चित अनलाइन किनमेल तथा अन्य ई–कमर्स प्लेटफर्मको नाम, लोगो वा ब्रान्ड प्रयोग गरिएको भन्दैमा उक्त विज्ञापन आधिकारिक नै हो भन्ने सुनिश्चित नहुने भएकाले प्रयोगकर्ताले सावधानी अपनाउनुपर्ने प्रहरीले जनाएको छ।
साइबर ब्युरोले सार्वजनिक गरेको चेतावनीमा ‘एईजी इन्भेस्टमेन्ट स्क्याम’ नामसमेत उल्लेख गरिएको छ। विज्ञापनमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाएर प्रयोगकर्तालाई रकम लगानी गर्न लगाउने शैली अपनाइएको जनाइएको छ।
प्रहरीले कुनै पनि अनलाइन प्लेटफर्म वा विज्ञापनमा रकम पठाउनुअघि त्यसको आधिकारिकता जाँच गर्न, अपरिचित लिंकमा क्लिक नगर्न तथा अत्यधिक प्रतिफलको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
अनलाइन ठगीसम्बन्धी जानकारी वा उजुरीका लागि साइबर ब्युरो, भोटाहिटी काठमाडौंमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार