श्रीलङ्कामा साइबर अपराधको कारबाहीमा एक हजारभन्दा बढी विदेशी पक्राउ

  • Technology Khabar | २९ श्रावण २०८३, शुक्रबार
श्रीलङ्कामा साइबर अपराधको कारबाहीमा एक हजारभन्दा बढी विदेशी पक्राउ

काठमाडौं ।

श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगीविरुद्धको कारबाही तीव्र पार्दै यस वर्ष हालसम्म २७ ओटा अभियानमा एक हजार ९३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

सङ्गठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कारबाही अघि बढाएको प्रहरी प्रवक्ता एफयु वुटलरले बिहीबार बताए।

मिडिया सम्मेलनमा प्रवक्ता वुटलरले साइबर अपराध श्रीलङ्काका लागि प्रमुख सुरक्षा चुनौती बन्दै गएको बताए। उनका अनुसार आपराधिक सञ्जालले श्रीलङ्का तथा विदेशमा रहेका व्यक्तिलाई लक्षित गर्न डिजिटल माध्यम, सामाजिक सञ्जाल र अनलाइन वित्तीय प्रणालीको प्रयोग बढाउँदै लगेका छन्।

प्रहरीका अनुसार सन् २०२४ मा साइबर अपराधसँग सम्बन्धित २६ वटा कारबाहीमा ५७३ जना विदेशी नागरिक पक्राउ परेका थिए । सन् २०२५ मा भने यस्ता दुईवटा कारबाहीमा २६ जना विदेशी पक्राउ परेका थिए । यस वर्ष पक्राउ पर्ने विदेशीको सङ्ख्या अघिल्ला दुई वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ।

प्रवक्ता वुटलरका अनुसार यस्ता आपराधिक सञ्जाललाई रोक्न र अनलाइन वित्तीय अपराध नियन्त्रण गर्न रक्षा मन्त्रालय तथा प्रहरी महानिरीक्षकको निर्देशनमा विभिन्न निकायबीच समन्वय गरी विशेष कारबाही सञ्चालन भइरहेको छ।

कारबाहीका क्रममा पक्राउ परेका विदेशी नागरिकलाई निर्वासन गर्ने वा सम्बन्धित देशमा फिर्ता पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताए।

श्रीलङ्काली प्रहरीले घरधनी, होटल सञ्चालक तथा व्यावसायिक भवनका मालिकलाई आफ्नो परिसर भाडामा लिन आउने विदेशी नागरिकको पहिचान तथा सम्बन्धित कागजात सावधानीपूर्वक जाँच गर्न आग्रह गरेको छ। विदेशी नागरिक भाडामा बस्ने वा भाडामा लिएको परिसरबाट बाहिरिने अवस्थामा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था रहेको प्रवक्ता वुटलरले बताए।

प्रहरीका अनुसार केही संदिग्ध साइबर अपराध सञ्जालले भाडाका घर, अपार्टमेन्ट, होटल तथा व्यावसायिक भवनलाई आफ्नो गतिविधि सञ्चालन गर्ने आधारका रूपमा प्रयोग गर्दै आएका छन्। त्यसैले यस्ता स्थानमा बस्ने विदेशी नागरिक तथा उनीहरूको गतिविधिबारे आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

श्रीलङ्काली प्रहरीले अनलाइन ठगी तथा वित्तीय अपराधमा संलग्न सञ्जालको पहिचान, नियन्त्रण र विघटनका लागि आगामी दिनमा पनि संयुक्त कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २९ श्रावण २०८३, शुक्रबार