काठमाडौं ।
एन्थ्रोपिकले क्लोड कोडको अटो मोडलाई अब डिफल्ट बनाउने भएको छ। अगस्ट १४ देखि प्रो, म्याक्स र टिम अकाउन्टका प्रयोगकर्ताले क्लोड कोड प्रयोग गर्दा अटो मोड स्वतः सक्रिय हुनेछन्।
कम्पनीले यसअघि मार्चमा अटो मोडको परीक्षण संस्करण सार्वजनिक गरेको थियो। यसलाई कामको गति र नियन्त्रणबीच सन्तुलन कायम गर्ने माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।
टेकक्रञ्चका अनुसार एन्थ्रोपिकका अनुसार क्लोड कोड अटो मोडमा हुँदा प्रत्येक चरणमा मानव स्वीकृतिका लागि प्रम्प्ट देखाउने छैन। कुनै काम ‘फिर्ता गर्न नसकिने, विनाशकारी वा प्रयोगकर्ताको वातावरणभन्दा बाहिर लक्षित’ भएको ठहर नभएसम्म यसले काम अघि बढाउनेछ।
एन्थ्रोपिकले परीक्षणका क्रममा अटो मोड म्यानुअल समीक्षाभन्दा सुरक्षित देखिएको पनि जनाएको छ। १ हजार ५३ जना भुक्तानी गर्ने प्रयोगकर्तामाथि गरिएको अध्ययनमा अटो मोडले ८९ प्रतिशत हानिकारक गतिविधि पहिचान गरेको थियो भने मानव समीक्षाले १३.६ प्रतिशत मात्र पहिचान गरेको थियो।
एन्थ्रोपिकका अनुसार यसको एउटा कारण ‘म्यानुअल समीक्षा बानीमा परिणत हुनु’ पनि हुन सक्छ। क्लोड कोडमा देखाइने अनुमति माग्ने प्रम्प्टमध्ये प्रयोगकर्ताले ९७ प्रतिशतलाई स्वीकृति दिने गरेका छन्।
क्लोड कोडका प्रमुख बोरिस चेर्नीले एक्समा लेख्दै आफू र आफ्नो टोलीले धेरै महिनादेखि अटो मोड मात्र प्रयोग गरिरहेको बताएका छन्। उनले अनुमति माग्ने प्रम्प्टमा फर्किने कल्पना गर्न पनि नसक्ने बताएका छन्।
कम्पनीले डेटा चोरीजस्ता गतिविधि रोक्न प्रम्प्ट इन्जेक्सन स्क्रिनिङ र प्रयोगकर्ताले अनुकूलन गर्न सक्ने हार्ड डिनाई नियमजस्ता नयाँ सुरक्षा सुविधा पनि थपिरहेको जनाएको छ।
प्रकाशित: २५ श्रावण २०८३, सोमबार