अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी रोक्न चलचित्र विकास बोर्डको आग्रह

  • Technology Khabar | २० श्रावण २०८३, बुधबार
अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी रोक्न चलचित्र विकास बोर्डको आग्रह

काठमाडौं ।

चलचित्र विकास बोर्डले हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ (क्याम–रेकर्डिङ) र डिजिटल पाइरेसी बढिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न सबै सरोकारवालासँग आग्रह गरेको छ।

बोर्डले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र हलभित्र मोबाइल फोन वा अन्य विद्युतीय उपकरण प्रयोग गरी चलचित्रका दृश्य, संवाद वा अंश रेकर्ड गरी टिकटक, फेसबुक, यूट्युब, इन्स्टाग्राम, टेलिग्राम लगायत सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा अपलोड, प्रसारण र वितरण भइरहेको जानकारी प्राप्त भएको जनाएको छ।

बोर्डका अनुसार चलचित्रको कुनै पनि अंश खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रचलित प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनविपरीत हुन सक्छ।

विज्ञप्तिमा चलचित्र निर्माण ठूलो लगानी, दीर्घकालीन परिश्रम, सिर्जनशीलता र हजारौं चलचित्रकर्मीको सामूहिक योगदानको परिणाम भएकाले अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसीका कारण निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक तथा लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्नुका साथै नेपाली चलचित्र उद्योग, चलचित्र व्यवसाय र बौद्धिक सम्पत्तिको संरक्षणमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।

चलचित्र विकास बोर्डले सामाजिक सञ्जाल वा डिजिटल माध्यममा अनधिकृत रूपमा पोस्ट गरिएका चलचित्रसम्बन्धी सामग्री तत्काल हटाउन, चलचित्र हलभित्र भिडियो वा अडियो रेकर्डिङ नगर्न, प्रतिलिपि अधिकारको सम्मान गर्न तथा चलचित्र सञ्चालक र प्रदर्शकलाई यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

बोर्डले अनधिकृत रेकर्डिङ, डिजिटल पाइरेसी तथा प्रतिलिपि अधिकार उल्लंघनसम्बन्धी गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही हुन सक्ने भएकाले यस्ता गैरकानुनी कार्य नगर्न पनि आग्रह गरेको छ।

प्रकाशित: २० श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार