२०८०/८१ सम्मको बक्यौता पुस मसान्तभित्र भुक्तानी गर्नेलाई नेपाल टेलिकमले जरिवाना पूर्ण रूपमा छुट दिने

  • Technology Khabar | २० श्रावण २०८३, बुधबार
२०८०/८१ सम्मको बक्यौता पुस मसान्तभित्र भुक्तानी गर्नेलाई नेपाल टेलिकमले जरिवाना पूर्ण रूपमा छुट दिने

काठमाडौं ।

नेपाल टेलिकमले विभिन्न सेवा प्रयोग गरेपछि तिर्नुपर्ने महसुल बक्यौता रहेका ग्राहकलाई जरिवाना छुट दिने योजना सार्वजनिक गरेको छ।

कम्पनीले हालै एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ साल पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई सो बक्यौतामा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिइने जनाएको हो।

टेलिकमले यस्तो अवसरको सदुपयोग गर्न सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी बक्यौता रकम बुझाउन आग्रह गरेको छ।

कम्पनीका अनुसार विभिन्न दूरसञ्चार सेवा प्रयोग गरेबापतको महशुल लामो समयदेखि भुक्तानी नगरेका ग्राहकलाई लक्षित गर्दै यो छुट योजना ल्याइएको हो। यसबाट ग्राहकले जरिवाना छुटको सुविधा पाउने र कम्पनीको बक्यौता रकम असुलीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

त्यस्तै तोकिएको अवधिसम्म पनि बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकविरुद्ध असुली प्रक्रिया अघि बढाइने नेपाल टेलिकमले जनाएको छ। त्यस्ता ग्राहकको नामसहितको विवरण कम्पनीको वेबसाइट तथा राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरेर कानुनी प्रक्रिया अगाडि बढाइने कम्पनीको चेतावनी छ।

नेपाल टेलिकमले समयमै बक्यौता रकम बुझाई जरिवाना छुटको सुविधा लिन सबै सम्बन्धित ग्राहकलाई अनुरोध गरेको छ।

प्रकाशित: २० श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार