काठमाडौं ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो यूरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ।
रोडशोमार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरुलाई यूरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हव तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँगै जोड्दै नयाँ व्यावसायिक साझेदारी प्रविधि निर्यात र लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको नास–आईटीले जनाएको छ।
यो कार्यक्रम स्विस सरकार विकास सहयोग र नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स कार्यक्रम यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोग तथा दाई ग्लोबल यूकेको कार्यान्वयनमा आयोजना हुन लागेको हो।
यसअघि सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा सफलतापूर्वक सम्पन्न भएका रोडशोको निरन्तरताको रूपमा यूरोप संस्करण आयोजना गर्न लागिएको हो।
यस रोडशोले नेपाली आईटी उद्योगलाई यूरोपसँगै प्रत्यक्ष जोड्ने महत्वपूर्ण भूमिका खेल्ने नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए।
“नेपाली आईटी कम्पनीहरूले आफ्नो क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रमाणित गरिसकेका छन्। अब हामी यूरोपका व्यवसाय, लगानीकर्ता र प्रविधि समुदायसगै प्रत्यक्ष सहकार्य विस्तार गर्न चाहन्छौँ। यो रोडशोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, नयाँ साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा थप स्थापित गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।
रोडशोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म बेलायतमा सञ्चालन हुनेछ। यसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल लण्डन हिथ्रोमा हुनेछ।
कार्यक्रममा नेपालको आईटी उद्योगको विकास, सम्भावना नेपाली कम्पनीहरुको क्षमता अन्तर्राष्ट्रिय अनुभव तथा व्यावसायिक सहकार्यका अवसरबारे प्रस्तुति र छलफल हुनेछ। नास आईटीका १७ भन्दा बढी सदस्य कम्पनीहरुले आफ्ना सेवा, उत्पादन तथा नवीन प्रविधिमा आधारित समाधान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जानकारी दिइयो।
रोडशोको दोस्रो चरण सेप्टेम्बर १३ देखि २१, सम्म स्विट्जरल्याण्डमा आयोजना हुनेछ। यसअन्तर्गत मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्यूरिखस्थित होटल सेन्ट गोडार्डमा आयोजना गरिनेछ।
यस क्रममा सहभागी कम्पनीहरूले यूरोपका व्यवसाय, सम्भावित साझेदार, स्टार्टअप इनोभेसन हब तथा अन्य सरोकारवालासँगै व्यावसायिक भेटघाट, छलफल र नेटवर्किङ गर्नेछन्। यसबाट नयाँ साझेदारी, सेवा विस्तार वैदेशिक लगानी आकर्षण तथा दीर्घकालीन सहकार्यका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा नास आईटीका १७ भन्दा बढी सदस्य कम्पनीहरूले आफ्ना सेवा र प्रविधिहरू प्रस्तुत गर्ने बताईएको छ।
प्रकाशित: २० श्रावण २०८३, बुधबार