काठमाडौं ।
मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजन’ समूह विजेता बनेको छ।
‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित अगस्ट १ र २ मा काठमाडौंमा आयोजित दुईदिने ह्याकाथनमा सनवे कलेजका समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ समूहले ५० हजार रुपैयाँसहित ग्रान्ड प्राइज जित्यो।
समूहले ग्रामीण क्षेत्रमा किसानले भोग्दै आएको बाँदर आतंकको समस्या समाधानका लागि प्रविधिमा आधारित अवधारणा प्रस्तुत गरेको थियो।
यातायात क्षेत्रलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित बनाउने अवधारणा प्रस्तुत गरेको मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी सम्मिलित ‘सेन्टिनाज’ समूह रनरअप बन्दै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो।
ह्याकाथनमा २१ बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी थिए। १६ देखि २४ वर्ष उमेर समूहका सहभागीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड प्रविधिको प्रयोग गर्दै नेपालका वास्तविक समस्या समाधानमा केन्द्रित कार्यात्मक नमुना तथा न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) विकास गरेका थिए। प्रतियोगिता स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छ क्षेत्रमा केन्द्रित थियो।
कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले यस्ता कार्यक्रमले विद्यार्थीका सिर्जनशील विचारलाई व्यवहारमा उतार्ने अवसर दिने बताइन्। बीआईटी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको दूरी घटाउनु ह्याकाथनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै अधिकांश टोलीले एआईमा आधारित परियोजना प्रस्तुत गरेकाले नेपालको शिक्षा प्रणालीमा पनि एआईलाई प्राथमिकता दिनुपर्ने बताए।
ह्याकाथनका निर्णायक तथा सिटीटेकका संस्थापक साजन शर्माले विद्यार्थीका परियोजना प्रभावशाली रहेको भन्दै एआईसहित उदीयमान प्रविधिमा निरन्तर क्षमता विकास गर्न आग्रह गरे। आईएमई खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले समस्याको वास्तविक कारण पहिचान गरेर मात्रै दीर्घकालीन समाधान सम्भव हुने भन्दै नयाँ सोच र व्यावहारिक नवप्रवर्तनमा केन्द्रित हुन विद्यार्थीलाई सुझाव दिए।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रका आठ विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई मार्गदर्शन गरेका थिए। अन्तिम प्रस्तुतिको मूल्याङ्कन साजन शर्मा, मनिष खेम्का र अमित अग्रवालले गरेका थिए। अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजी र प्रोशोर नेपाललगायत संस्थाले कार्यक्रमलाई सहयोग गरेका थिए।
प्रकाशित: २० श्रावण २०८३, बुधबार