काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिकाले नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई लक्षित गर्दै टिकटकलगायत सामाजिक सञ्जालमा कपोलकल्पित, भ्रामक, तथ्यहीन र अतिरञ्जित सामग्री प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमाण र तथ्यबिना सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका अभिव्यक्तिले नगरपालिकाको प्रतिष्ठामा आँच पुर्याउनुका साथै नागरिकमा भ्रम सिर्जना गरेको उल्लेख गरेको छ।
सार्वजनिक संस्थाको आलोचना गर्ने र सार्वजनिक पदाधिकारीसँग जवाफदेहिता माग्ने अधिकार लोकतन्त्रको सुन्दर पक्ष भए पनि रिस, डाह वा प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तथ्यहीन अभिव्यक्ति दिनु उचित नभएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले आफ्नो विकास तथा प्रशासनिक काम प्रचलित कानुन, नीति, विधि र पारदर्शिताका आधारमा सञ्चालन भइरहेको दावी गर्दै सामाजिक सञ्जालमा भनिएजस्तो भ्रष्टाचार वा अनियमितता नभएको जनाएको छ। त्यस्ता दाबी प्रमाणित गर्नसमेत चुनौती दिँदै नगरपालिकाले विवाद समाधानका लागि मेलमिलाप र आवश्यक परे कानुनी प्रक्रियाबाट अघि बढिने जनाएको छ।
सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित तथा भ्रामक सूचना फैलाउने, चरित्रहत्या गर्ने, गालीगलौज गर्ने र मानमर्दन हुने अभिव्यक्ति दिने कार्यलाई सामान्य आलोचनाका रूपमा नलिइने तथा प्रचलित कानुनबमोजिम सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले चेतावनी दिएको छ।
साथै नगरपालिकाले जनप्रतिनिधिको आलोचना तथा रचनात्मक सुझावलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै तथ्यमा आधारित बहस, पारदर्शिता, जवाफदेहिता र स्वस्थ सार्वजनिक संवादको संस्कृतिलाई प्रवर्द्धन गर्न सबैमा अपिल गरेको छ।
प्रकाशित: १८ श्रावण २०८३, सोमबार