मेमोरी चिपको लागत बढेसँगै दोस्रो त्रैमासमा ६ प्रतिशतले खस्कियो विश्वव्यापी स्मार्टफोन बिक्री: रिपोर्ट

  • Technology Khabar | १६ श्रावण २०८३, शनिबार
मेमोरी चिपको लागत बढेसँगै दोस्रो त्रैमासमा ६ प्रतिशतले खस्कियो विश्वव्यापी स्मार्टफोन बिक्री: रिपोर्ट
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

विश्वव्यापी मेमोरी चिपको लागत बढ्नुका साथै आपूर्ति शृंखलामा आएको समस्याका कारण सन् २०२६ को दोस्रो त्रैमासिकमा विश्वभर स्मार्टफोन बिक्री ६ प्रतिशतले घटेको छ। प्रविधि अनुसन्धान संस्था ओम्डियाका अनुसार यस अवधिमा विश्वभर २७ करोड २० लाख स्मार्टफोन बिक्री भएका छन्।

ओम्डियाले सन् २०२५ को अन्त्यदेखि विश्वव्यापी स्मार्टफोन आपूर्ति लगातार घटिरहेको जनाएको छ। मेमोरी संकट र कम्पोनेन्टको लागत बढ्दै जाँदा यो अवस्था कम्तीमा सन् २०२६ को बाँकी अवधिसम्म जारी रहने अनुमान गरिएको छ।

सबैभन्दा बढी असर तुलनात्मक रूपमा सस्ता स्मार्टफोन ब्रान्डहरूमा परेको छ। सियाओमीको आपूर्ति अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत र ओप्पोको १७ प्रतिशतले घटेको छ। केही बजारमा मूल्य बढाउनु परेको र उत्पादन पोर्टफोलियो घटाइएकाले बिक्री प्रभावित भएको ओम्डियाले जनाएको छ। आगामी महिनाहरूमा विशेषगरी कम मूल्यका स्मार्टफोनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ।

यता सामसङले दोस्रो त्रैमासिकमा ६ करोड ५ लाख स्मार्टफोन बिक्री गर्दै वार्षिक रूपमा सामान्य वृद्धि हासिल गरेको छ। यससँगै कम्पनीको विश्व बजार हिस्सा २२ प्रतिशत पुगेको छ।

यद्यपि बढ्दो उत्पादन लागतका कारण सामसुङको मोबाइल व्यवसायले दोस्रो वित्तीय त्रैमासिकमा पहिलो पटक घाटा बेहोरेको बताइएको छ। तर एआई कम्पनीहरूको उच्च मागका कारण मेमोरी र स्टोरेज चिपको बिक्री उल्लेखनीय रूपमा बढ्दा कम्पनीले दोस्रो त्रैमासिकमा अहिलेसम्मकै उच्च आम्दानी हासिल गरेको छ।

इन्ग्याजेटका अनुसार एप्पलले पनि आफ्नो इतिहासकै सबैभन्दा सफल दोस्रो त्रैमासिक प्रदर्शन गरेको छ। कम्पनीले ५ करोड ५१ लाख स्मार्टफोन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी हो। यससँगै एप्पलको विश्व बजार हिस्सा २० प्रतिशत पुगेको छ।

सन् २०२६ मा आइफोन १७ को बिक्री निकै बलियो रहेको र कम्पनीले हालसम्म अन्य धेरै कम्पनीझैँ आफ्ना स्मार्टफोनको मूल्य नबढाएको ओम्डियाले जनाएको छ।

रिपोर्टका अनुसार एप्पलले आइफोन १८ श्रृंखलालाई दुई चरणमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। प्रो र अल्ट्रा मोडेल परम्पराअनुसार सन् २०२६ को अन्त्यतिर आउनेछन् भने सामान्य आइफोन १८, १८ई र आइफोन एयर २ सन् २०२७ को वसन्तमा सार्वजनिक हुने अनुमान गरिएको छ।

एप्पलले यसै साता आफ्नो नयाँ अपग्रेड कार्यक्रम पनि सार्वजनिक गरेको छ। ओम्डियाका अनुसार मूल्य निर्धारणमा लचकता, बलियो आपूर्ति शृंखला र नवीन व्यावसायिक रणनीति अपनाउने स्मार्टफोन कम्पनीहरूले सन् २०२६ को बाँकी दुई त्रैमासिकमा राम्रो प्रदर्शन गर्ने सम्भावना छ।

प्रकाशित: १६ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार