काठमाडौं ।
वेमो लगायतका रोबोट्याक्सी सेवा प्रदायक कम्पनीहरू स्वचालित सवारीसाधनले आपत्कालीन सेवामा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा थप निगरानीमा परेका छन्। यससँगै उनीहरूका लागि नयाँ संघीय सुरक्षा मापदण्ड लागू हुन सक्ने सम्भावना पनि बढेको छ।
अमेरिकी सांसद केभिन मुलिनले स्वचालित सवारीसाधन सञ्चालकका लागि न्यूनतम राष्ट्रिय सुरक्षा मापदण्ड तय गर्न संघीय नियामकलाई निर्देशन दिने विधेयक प्रस्ताव गरेका छन्। यो विधेयक यसै साता अमेरिकी कंग्रेसमा दर्ता हुने अपेक्षा गरिएको छ।
यो प्रस्ताव एम्बुलेन्स र दमकललाई स्वचालित सवारीसाधनले बाटो छेकेको, अपराधस्थलमा प्रवेश गरेको तथा ट्राफिक कोन र चेतावनी संकेत नचिनेका घटनापछि आएको हो।
‘AV Emergency Response Coordination Act’ नाम दिइएको यो विधेयक मंगलबार सान फ्रान्सिस्कोमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। सान फ्रान्सिस्को स्वचालित सवारी परीक्षणको प्रमुख केन्द्र हो, जहाँ सयौं वेमो रोबोट्याक्सीले भाडामा यात्रु सेवा दिइरहेका छन्।
पत्रकार सम्मेलनमा सान फ्रान्सिस्कोका मेयर ड्यानियल लुरी, दमकल प्रमुख डिन क्रिस्पेन तथा एडभोकेट्स फर हाइवे एण्ड अटो सेफ्टीकी अध्यक्ष क्याथी चेस पनि सहभागी थिए।
मुलिनले स्वचालित सवारीसाधनले अनजानमै आपत्कालीन सेवामा अवरोध पुर्याएका धेरै घटना देखिएको र यो स्वीकार्य नभएको बताए।
दमकल प्रमुख क्रिस्पेनले रोबोट्याक्सी कम्पनीहरूसँग सहकार्य भए पनि पटक–पटक दोहोरिएका घटनाले सुधार आवश्यक रहेको बताए। उनका अनुसार रोबोट्याक्सीले दमकल केन्द्र र एम्बुलेन्स तैनाथ हुने स्थानको अगाडि नै यात्रु चढाउने र ओराल्ने गरेका कारण आपत्कालीन सेवामा अवरोध भइरहेको छ।
विधेयकले स्वचालित सवारीसाधन कम्पनीलाई पहिलो प्रतिक्रिया दिने आपत्कालीन निकायका लागि स्पष्ट कार्यविधि उपलब्ध गराउन, सार्वजनिक अधिकारीले सिधै सम्पर्क गर्न सक्ने २४ घण्टे हटलाइन सञ्चालन गर्न तथा अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) लाई राष्ट्रिय आपत्कालीन प्रतिक्रिया मापदण्ड तयार गर्न निर्देशन दिने प्रस्ताव गरेको छ।
यसमा आपत्कालीन अवस्था वा अन्य सुरक्षा जोखिमका बेला सार्वजनिक अधिकारीलाई निश्चित क्षेत्रमा स्वचालित सवारीसाधन सञ्चालन सीमित गर्न सक्ने ‘जियोफेन्सिङ’ व्यवस्था गर्ने प्रस्ताव पनि समावेश छ। यो व्यवस्था लागू भएमा शहर तथा सार्वजनिक सुरक्षा निकायले कम्पनीहरूले आफैं निर्णय गर्ने प्रतीक्षा नगरी वास्तविक समयमा रोबोट्याक्सी सञ्चालन सीमित गर्न सक्नेछन्।
वेमोले प्रतिक्रिया दिँदै स्वचालित सवारीसाधनका लागि संघीय मापदण्ड बनाउने प्रयासलाई आफूले लामो समयदेखि समर्थन गर्दै आएको जनाएको छ।
कम्पनीले पहिलो प्रतिक्रिया दिने आपत्कालीन निकायसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा पनि साझा मापदण्ड आवश्यक रहेको बताएको छ। वेमोका अनुसार आपत्कालीन प्रतिक्रिया कार्यविधि र आपत्कालीन सेवाका कर्मचारीलाई दिइएको व्यापक तालिम कम्पनीको सञ्चालनको महत्त्वपूर्ण हिस्सा हो।
न्यूनतम राष्ट्रिय मापदण्ड बनेमा सम्पूर्ण उद्योग र सार्वजनिक सुरक्षा निकायले एउटै ढाँचा अनुसार काम गर्न सक्ने र सडकमा स्वचालित सवारीसाधन भेटिँदा आपत्कालीन सेवाले आवश्यक स्रोत र स्पष्टता प्राप्त गर्ने कम्पनीको भनाइ छ।
प्रकाशित: १४ श्रावण २०८३, बिहीबार