काठमाडौं ।
भेराइजनले गुगलका डाटा सेन्टरहरू जोड्न १ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको सम्झौता गरेको छ। कम्पनीका अनुसार यस्ता थप बहु-अर्ब डलरका सम्झौताहरू पनि तयारी अवस्थामा छन्।
यो घोषणा भेराइजनका प्रमुख कार्यकारी अधिकृत ड्यान शुल्मनले शुक्रबार दोस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा गरेका हुन्। कम्पनीले आम्दानी र ग्राहक संख्या दुवैमा वृद्धि गरेको छ भने चालु वर्षका लागि आफ्नो वित्तीय अनुमान पनि बढाएको छ।
शुल्मनका अनुसार भेराइजनले आफ्नो डार्क फाइबर पूर्वाधार प्रयोग गरेर गुगलका डाटा सेन्टरहरू जोड्न १ अर्ब डलरभन्दा बढी मूल्यको सम्झौता गरेको हो।
उनले वर्षको अन्त्यसम्ममा थप यस्ता सम्झौताहरू सार्वजनिक गरिने अपेक्षा गरिएको र तीबाट आगामी केही वर्षमा धेरै अर्ब डलर आम्दानी हुने बताए। उनका अनुसार यी दीर्घकालीन सम्झौताहरू विश्वका ठूला पूर्वाधार ग्राहकहरूसँग गरिएका हुन्।
टेलिकम्स डटकमका अनुसार गुगलसँगको सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर शुल्मनले कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार विस्तारसँगै उच्च क्षमताको कनेक्टिभिटीको माग बढ्ने र त्यसबाट भेराइजनले लाभ लिन सक्ने बताए।
उनका अनुसार अमेरिकाभर एआई पूर्वाधार निर्माण अहिलेको सबैभन्दा ठूलो लगानी चक्रमध्ये एक हो र भेराइजनले विगत केही वर्षमा गरेको लामो दूरी तथा महानगरीय फाइबर पूर्वाधारमा लगानी अहिले ठूला क्लाउड सेवा प्रदायकहरूको आवश्यकता पूरा गर्न उपयुक्त बनेको छ।
“हामीले त्यो पूर्वाधार अर्कै समयका लागि बनाएका थियौं, तर अहिलेका लागि पनि त्यही सबैभन्दा उपयुक्त सम्पत्ति बनेको छ,” शुल्मनले भने।
उनले एआईसम्बन्धी डार्क फाइबर सम्झौताले कम्पनीको आम्दानीको संरचनामा परिवर्तन ल्याउने बताए। साथै, गत महिना बीटीसँग भएको अन्तर्राष्ट्रिय संयुक्त साझेदारी अर्को वर्षको दोस्रो छमाहीमा पूरा हुने अपेक्षा गरिएको जानकारी पनि दिए।
शुल्मनले कम्पनीको रणनीति ग्राहक सन्तुष्टि बढाउने र खर्च नियन्त्रण गर्नेमा केन्द्रित रहेको बताए। उनका अनुसार कम्पनीले अत्यधिक छुटका योजनाभन्दा वास्तविक सेवाको मूल्यका आधारमा नयाँ ग्राहक थपिरहेको छ र दीर्घकालीन ग्राहक टिकाइरहेको छ।
दोस्रो त्रैमासमा भेराइजनले १ लाख ८४ हजार पोस्टपेड मोबाइल ग्राहक थपेको जनाएको छ। उपभोक्ता क्षेत्रमा नयाँ ग्राहक वृद्धि पछिल्लो पाँच वर्षकै उच्च रहेको कम्पनीको दावी छ।
कम्पनीले ब्रोडब्यान्ड ग्राहक संख्या वार्षिक रूपमा १२ प्रतिशतभन्दा बढीले बढाएर ३ लाख ४८ हजार नयाँ ग्राहक थपेको छ। तीमध्ये १ लाख ५५ हजार फाइबर ब्रडब्यान्ड र १ लाख ९३ हजार फिक्स्ड वायरलेस एक्सेस (एफडब्लुए) ग्राहक रहेका छन्। यससँगै कम्पनीको कुल स्थिर ब्रडब्यान्ड ग्राहक संख्या १ करोड ७१ लाख पुगेको छ।
मोबिलिटी र ब्रोडब्यान्ड सेवाबाट हुने आम्दानी बढे पनि उपकरण बिक्रीबाट हुने आम्दानी घटेका कारण कम्पनीको कुल राजस्व ०.७ प्रतिशतले घटेर ३४.३ अर्ब डलरमा सीमित भएको छ।
समायोजित ईबिट्डा ७.२ प्रतिशतले बढेर १३.७ अर्ब डलर पुगेको पनि यो कम्पनीको इतिहासकै उच्च त्रैमासिक स्तर हो। ईबिट्डा मार्जिन पनि कीर्तिमानी ४०.१ प्रतिशत पुगेको छ। नगद मौज्दात बढेको र ऋण घटेको कम्पनीले जनाएको छ।
भेराइजनले चालु वर्षका लागि मोबिलिटी र ब्रडब्यान्ड सेवाबाट हुने आम्दानी २.५ देखि ३ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ। समायोजित प्रतिशेयर आम्दानी ६ देखि ७ प्रतिशत, सञ्चालनबाट हुने नगद प्रवाह २ देखि ४ प्रतिशत तथा स्वतन्त्र नगद प्रवाह ९ देखि १० प्रतिशतसम्म बढ्ने प्रक्षेपण कम्पनीले गरेको छ।
कम्पनीको सकारात्मक नतिजापछि शुक्रबार भेरfइजनको सेयर मूल्य पनि बढेको थियो।
विश्लेषकहरूले कम्पनीको दीर्घकालीन वृद्धि कायम राख्न लागत कटौती मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूका अनुसार भविष्यमा भेरfइजनले खर्च नियन्त्रण, ग्राहक वृद्धि र प्रत्येक ग्राहकबाट हुने आम्दानीबीच सन्तुलन कायम गर्नुपर्नेछ।
प्रकाशित: १४ श्रावण २०८३, बिहीबार