काठमाडौं ।
थापाथली क्षेत्रको पोलमा अव्यवस्थित रूपमा रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तार व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
उनी मन्त्रालय जाने समयमा सोही स्थानमा करिब २ घण्टा बसेर अवस्था निरिक्षण गरेको र त्यहिँबाट फोन गरेर सरोकारबालाहरुलाई बोलाएका थिए।

उनले अव्यवस्थित तार व्यवस्थापन गर्न तत्काल निर्देशन दिएको एक सेवा प्रदायकले जानकारी दिए। यसपछि इन्टरनेट सेवा प्रदायकहरुको थापाथलीमा तानिएका र आगलागीबा६ जलेका तार काटिएको थियो। यसले उपत्यकाका कयौं स्थानहरुमा इन्टरनेट सेवा प्रभावित हुने देखिएको छ।
उर्जामन्त्री विराजभक्त श्रेष्ठ आफैं उपस्थित भएर सेवा प्रदायकहरुको डार्क फाइबरसहित काट्न लगाएको र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए। नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्थाहरु, काठमाडौं महानगरपालिकालगायतसँग तार व्यवस्थापन गर्न समन्वय गर्न भनिएको छ।
यस्तै आदेश पालना गर्दै काठमाडौं महानगरपालिकाका नगरप्रहरीहरुले सेवा प्रदायकहरुको डार्क फाइबरसहितका तारहरु काटिदिएका छन्।

टेक्नोलोजीखबरले पाएको एक भिडियोमा नगरप्रहरीले पोलमा रहेका सबै तारहरु काटिदिएको देखिन्छ। यसले गर्दा कयौं क्षेत्रमा इन्टरनेट सेवामा अवरोध आउन सक्ने इन्टरनेट सेवा प्रदायकका एक संचालकले जानकारी दिए।
उक्त काटिएको र आगलागी भएको तारहरु छिटै व्यवस्थापन गरिने बताईएको छ।
केहि दिनअघि मात्रै उर्जा र सञ्चारमन्त्रीले संयुक्तरुपमा पुरानो बानेश्वर लगायतका क्षेत्रमा तार व्यवस्थापनको कार्य निरिक्षण गरेका थिए। सरकारले तार व्यवस्थापनको लागि टोलीनै बनाएर सो क्षेत्रमा तार व्यवस्थापनको कार्य गरिरहेको छ।
प्रकाशित: १३ श्रावण २०८३, बुधबार