काठमाडौं ।
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले अनलाइन आवेदन प्रणालीमा आएको प्राविधिक समस्याका कारण कोरिया रोजगारीका लागि आवेदन प्रक्रिया हाललाई स्थगित गरेको छ।
शाखाले मंगलबार जारी अत्यावश्यक सूचनाअनुसार अत्यधिक सेवाग्राहीको चापका कारण केन्द्रीय सर्भरमा प्राविधिक समस्या उत्पन्न भएपछि साउन ११ गते साँझ ५ बजेदेखि अनलाइन दरखास्त फाराम प्रविष्टि (डाटा इन्ट्री) तथा आवेदन पेश गर्ने कार्य अवरुद्ध भएको हो।
विभागका अनुसार प्राविधिक टोलीले समस्या समाधान गरी प्रणाली पुनः सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेको छ। प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्मका लागि अनलाइन आवेदन प्रक्रिया स्थगित गरिएको हो।
योग्य आवेदक आवेदन दिनबाट वञ्चित नहून् भन्ने उद्देश्यले यसअघि कायम रहेको आवेदनको अन्तिम म्याद विस्तार गरी २०८३ साउन १८ गतेसम्म कायम गरिएको शाखाले जनाएको छ।
यस्तै सर्भरको प्राविधिक समस्या पूर्ण रूपमा समाधान भएपछि अर्को सूचना जारी गर्दै प्रणाली पुनः सञ्चालन गरिएको जानकारी गराइने उल्लेख गरिएको छ।
ईपीएस कोरिया शाखाले सेवाग्राहीलाई अद्यावधिक जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट epsnepal.gov.np नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ। आवेदन प्रणाली वा अन्य जानकारी आवश्यक परे सूचना अधिकारीको सम्पर्क नम्बर ९७६६६३६५७१ मा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख छ।
शाखाले अप्रत्याशित प्राविधिक समस्याका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
प्रकाशित: १३ श्रावण २०८३, बुधबार