काठमाडौं ।
मेटाले एआईबाट सिर्जना भएका सामग्री, नक्कली प्रोफाइल र स्पाम सामग्री बढ्दै गएपछि वास्तविक प्रयोगकर्तालाई चिनाउन नयाँ फेसबुक भेरिफाइड कार्यक्रम सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार प्रयोगकर्ताले अनुहारको सेल्फीमार्फत आफ्नो पहिचान प्रमाणित गर्न सक्नेछन्। उक्त सेल्फीलाई प्रयोगकर्ताको फेसबुक प्रोफाइलमा रहेका तस्बिरसँग मिलाएर जाँच गरिनेछ र यो प्रक्रिया केही मिनेटमै पूरा हुने मेटाले जनाएको छ।
इन्ग्याजेटका अनुसार मेटाले अनुहार पहिचान प्रविधि प्रयोग गर्ने निर्णय गरेको छ, जबकि हालै यस प्रविधिसम्बन्धी कानुनी विवाद र कम्पनीका स्मार्ट चस्मामा यसको प्रयोगबारे आलोचना पनि भएको थियो। यो सुविधा प्रयोग गर्न १८ वर्ष वा सोभन्दा माथिको उमेर हुनुपर्ने र फेसबुकका सामुदायिक मापदण्डअनुसार राम्रो अवस्थाको खाता हुनुपर्नेछ।
पहिचान पुष्टि भएपछि भेरिफाइड ब्याज फेसबुक मार्केटप्लेस, डेटिङ र फेसबुकका अन्य सेवा तथा सुविधामा देखिनेछ। यो नयाँ ब्याजले प्रयोगकर्ताको पहिचान मात्र पुष्टि गर्नेछ।
यसले फेसबुकको समर्थन, विश्वासयोग्यता वा सिफारिसको संकेत भने गर्ने छैन। यो सेवा मेटाको सशुल्क मेटा भेरिफाइज्डभन्दा फरक छ र पूर्ण रूपमा निःशुल्क हुनेछ।
हाल जेनेरेटिभ एआई उपकरणको प्रयोग गरेर वास्तविकजस्तै देखिने तस्बिर, विवरण र पृष्ठभूमिसहितका नक्कली प्रोफाइल बनाएर ठूलो संख्यामा स्वचालित सन्देश पठाउने ठगीका घटना बढिरहेका छन्। मेटाले यो नयाँ सुविधा प्रयोगकर्तालाई यस्ता ठगी र धोखाधडीबाट केही हदसम्म जोगाउने उद्देश्यले ल्याएको जनाएको छ।
मेटाले यससँगै फेसबुकका लागि अन्य नयाँ घोषणा पनि गरेको छ। कम्पनीले “इमर्सिभ भिडियो” अनुभव परीक्षण गर्ने जनाएको छ, जसअन्तर्गत केही प्रयोगकर्ताले एप खोल्नेबित्तिकै फुल-स्क्रिन भिडियो देख्नेछन्। यद्यपि प्रयोगकर्ताले चाहेमा यो सुविधा बन्द गरेर पहिलेजस्तै समाचार फिड केन्द्रित अनुभवमा फर्किन सक्नेछन्।
यो नयाँ भेरिफाइड सुविधा फेसबुक पेज वा प्रो मोड खाताका लागि उपलब्ध हुनेछैन। कम्पनीले सोमबारदेखि छनोट गरिएका बजारमा यसको चरणबद्ध विस्तार सुरु गर्ने र पछि विश्वभर उपलब्ध गराउने योजना रहेको जनाएको छ।
प्रकाशित: ९ श्रावण २०८३, शनिबार