एप्पलले सार्वजनिक गर्‍यो एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो

  • Technology Khabar | १२ कार्तिक २०८३, बिहीबार
एप्पलले सार्वजनिक गर्‍यो एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो

काठमाडौं ।

एप्पलले एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ चिपले अघिल्लो पुस्ताको एम५ चिपको तुलनामा ग्राफिक्स कार्यसम्पादन ३० प्रतिशत र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कामको गति २५ प्रतिशतसम्म बढाउँछ।

नयाँ म्याकबुक प्रोमा १२ कोरको सीपीयू र १२ कोरको जीपीयू राखिएको छ। प्रत्येक जीपीयू कोरमा न्युरल एक्सेलेरेटर समावेश छ। यसमा डुअल १६ कोरको न्युरल इन्जिन र छिटो युनिफाइड मेमोरी पनि उपलब्ध छ।

एप्पलका अनुसार एम६ चिपको न्युरल इन्जिन अघिल्लो पुस्ताको तुलनामा १.९ गुणा छिटो छ। यसले तस्बिर निर्माण, सुपर र‍ेजोल्युसन र तस्बिरको गुणस्तर तथा आकार बढाउनेजस्ता एआईसम्बन्धी कामलाई तीव्र बनाउँछ।

ठूलो भाषा मोडेल (एलएलएम) प्रयोग गर्दा नयाँ मोडेलले पहिलो टोकन प्राप्त गर्न लाग्ने समय १.३ गुणासम्म घटाउने कम्पनीको दाबी छ। त्यस्तै, ब्लेन्डर सफ्टवेयरमा रेन्डरिङ पनि एम५ मोडेलको तुलनामा १.३ गुणा छिटो हुने बताइएको छ।

नयाँ म्याकबुक प्रोमा एक पटकको चार्जमा २४ घण्टासम्म ब्याट्री चल्ने कम्पनीको दाबी छ। यसमा वाइफाइ ७ र ब्लुटुथ ६ को सुविधा पनि थपिएको छ।

कम्प्युटरमा सुरुवाती रूपमा १६ जीबी युनिफाइड मेमोरी उपलब्ध छ। थप २०० डलर तिरेर २४ जीबी र ४०० डलर तिरेर ३२ जीबी मेमोरी लिन सकिन्छ। यसको स्टोरेज १ टीबीबाट सुरु हुन्छ। थप ५०० डलरमा २ टीबी र १ हजार ५०० डलरमा ४ टीबी स्टोरेज छनोट गर्न सकिन्छ।

यसमा १ हजार ६०० निट्ससम्मको अधिकतम चमक भएको लिक्विड रेटिना एक्सडीआर डिस्प्ले, १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरा र एप्पलको ९६ वाटको पावर एडाप्टर प्रयोग गर्दा छिटो चार्ज हुने सुविधा छ।

स्क्रिनमा प्रकाशको प्रतिबिम्ब र चमक कम गर्न थप १५० डलर तिरेर नानो टेक्स्चर फिनिस पनि छनोट गर्न सकिन्छ। स्पेस ब्ल्याक र सिल्भर गरी दुई रङमा उपलब्ध हुने उपकरणको स्पेस ब्ल्याक संस्करणमा औँलाको दाग कम देखिने विशेष कोटिङ राखिएको छ।

कनेक्टिभिटीका लागि यसमा एचडीएमआई, म्यागसेफ ३, तीनवटा थन्डरबोल्ट ४ पोर्ट, एसडीएक्ससी कार्ड रिडर र ३.५ एमएम अडियो ज्याक छन्।

नयाँ १४ इन्च म्याकबुक प्रोको सुरुवाती मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ। यसको अग्रिम अर्डर अक्टोबर २८ देखि खुल्ने र बिक्री नोभेम्बर ६ देखि सुरु हुने जनाइएको छ।

तर, १६ इन्चको म्याकबुक प्रो रोज्ने ग्राहकले भने एम६ चिपको सट्टा अघिल्लो पुस्ताका एम५ प्रो वा एम५ म्याक्स चिप भएका मोडेलमै सीमित हुनुपर्नेछ।

प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार