काठमाडौं ।
अमेरिका र चीनले आगामी सेप्टेम्बरमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी वार्ता गर्ने तयारी गरेका छन्। यस विषयमा जानकारी भएका पाँच स्रोतलाई उद्धृत गर्दै रोयटर्सले दुवै महाशक्तिले एकअर्काका शक्तिशाली एआई मोडेलबाट उत्पन्न हुन सक्ने जोखिम कम गर्ने उपायबारे छलफल गर्न लागेका जनाएको छ।
स्रोतका अनुसार यो वार्ता मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको शिखर सम्मेलनको महत्वपूर्ण उपलब्धिमध्ये एक हो। सीको सेप्टेम्बर २४ मा हुने तय गरिएको अमेरिका भ्रमणअघि वार्ता हुने सम्भावना छ, यद्यपि मिति अझै अन्तिम भएको छैन।
विश्वव्यापी एआई प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अमेरिका र चीनले एकअर्काको एआई क्षमताप्रति बढ्दो चासो र चिन्ता व्यक्त गर्दै आएका छन्।
बेइजिङ र वासिङ्टनले सैन्य क्षमता बढाउन, महत्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गर्न तथा श्रम बजारमा असर पार्न सक्ने उन्नत एआई मोडेललाई कसरी नियमन गर्ने भन्ने विषयमा विचार गरिरहेका छन्।
रोयटर्सका अनुसार सेप्टेम्बरको वार्तामा अमेरिकी पक्षको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गर्नेछन्। अन्य सहभागी, वार्ताको कार्यसूची र स्थानबारे भने अझै छलफल भइरहेको स्रोतहरूले बताएका छन्।
ह्वाइट हाउस, अमेरिकी विदेश मन्त्रालय र अर्थ मन्त्रालयले यसबारे प्रतिक्रिया दिएका छैनन्।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग, साइबरस्पेस नियामक, उद्योग मन्त्रालय, विदेश मन्त्रालय र राज्य परिषद्ले पनि प्रतिक्रिया दिएका छैनन्।
यो ट्रम्प प्रशासनअन्तर्गत अमेरिका र चीनबीच हुने पहिलो औपचारिक एआई वार्ता हुनेछ।
पूर्वराष्ट्रपति जो बाइडेन र सी चिनफिङले सन् २०२४ मा जेनेभामा भएको कार्यस्तरीय वार्तापछि आणविक हतियार प्रयोगसम्बन्धी निर्णय मानवले नै गर्नुपर्नेमा सहमति जनाएका थिए।
अमेरिकाले यसअघि नै चीनतर्फ केही अत्याधुनिक एआई चिपको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। साथै, चिनियाँ ओपन-वेट एआई मोडेलको बढ्दो क्षमता र लोकप्रियतापछि अमेरिकी कम्पनीहरूले ती मोडेल प्रयोग गर्न पाउने विषयमा पनि वासिङ्टनले प्रतिबन्ध लगाउने सम्भावना रहेको समाचार सार्वजनिक भएको छ।
यता चीनले पनि आम प्रयोगकर्ताका लागि उपलब्ध नभएको एन्थ्रोपिकको माइथोज मोडेलको ह्याकिङ जोखिमप्रति चिन्ता व्यक्त गर्दै आफ्ना सबैभन्दा शक्तिशाली एआई मोडेलमा विदेशबाट पहुँच सीमित गर्नेबारे विचार गरिरहेको छ।
स्कट बेसेन्टले मे महिनामा भविष्यका वार्ताको उद्देश्य शक्तिशाली एआई मोडेल गैर-राज्य समूहसम्म फैलिन नदिनु रहेको बताएका थिए।
ट्रम्पको चीन भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले दुवै देश अन्तरसरकारी एआई वार्ता सुरु गर्न सहमत भएको पुष्टि गरेको थियो। त्यसयता बेइजिङले यस विषयमा सार्वजनिक रूपमा थप टिप्पणी गरेको छैन।
विश्लेषकहरूका अनुसार चीनको प्राथमिकतामा मिथोस, भविष्यका शक्तिशाली एआई मोडेल सार्वजनिक गर्ने विषयमा अमेरिकाको नीति तथा चिनियाँ ओपन-वेट एआई मोडेलमाथि अमेरिका प्रतिबन्ध लगाउने वा नलगाउने विषय रहनेछ।
ट्रम्प प्रशासनले नयाँ एआई मोडेल सार्वजनिक गर्दा अपनाइने स्वेच्छिक सुरक्षा मापदण्डबारे अमेरिकी एआई कम्पनीहरूसँग छलफल गरिरहेको छ, तर हालसम्म कुनै औपचारिक नियामक व्यवस्था घोषणा गरेको छैन।
स्रोतका अनुसार चीनले आगामी एक महिनासम्म आन्तरिक छलफल जारी राखेर वार्तामा कुन मन्त्रालयका कुन अधिकारी सहभागी हुने भन्ने निर्णय गर्नेछ।
चीन राजनीतिक बहसभन्दा पनि एआईसम्बन्धी प्राविधिक विषयमा अमेरिकासँग वास्तविक छलफल चाहेको स्रोतले जनाएको छ।
डीजीए–अल्ब्राइट स्टोनब्रिज समूहका साझेदार पल ट्रिओलोले पहिलो बैठकबाट ठूला समस्या समाधान हुने अपेक्षा नगरे पनि दुवै पक्षले ‘फ्रन्टियर एआई मोडेल’को परिभाषाजस्ता आधारभूत विषयमा सहमति खोज्ने प्रयास गर्ने बताए।
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार