नेपाली स्टार्टअप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट ‘फिनटेक इन्नोभेसन फन्ड’

  • Technology Khabar | १९ असार २०७६, बिहीबार
नेपाली स्टार्टअप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट ‘फिनटेक इन्नोभेसन फन्ड’

काठमाडौं ।

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् ।

उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ । खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५०० महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्ने बताईएकोछ ।

यस परियोजना अन्तर्गत पूर्वमा संखुवासभा देखि पश्चिममा दार्चुला सम्मका १२ वटा जिल्लाहरुमा ३५०० भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिनेछ । खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मदत पुर्याउनेछ । साथै खल्तीले स्मार्ट छोरीहरुलाई पनि उक्त महिला उद्यमीहरुलाई सहयोग गर्न परिचालन गर्नेछ ।

‘हामीहरुले खल्तीको मोबाईल एपमा एउटा डिजिटल बजारको व्यवस्था गर्दैछौँ जहाँ उनीहरुले उत्पादन गरेका वस्तु तथा सामानहरु सजिलै देशभरका ग्राहकमाझ बेच्न सक्नेछन् । साथै यसरी भएको आम्दानीको आधारमा हामीले उनीहरुलाई हाम्रा साझेदार बैंकमार्फत ऋण प्राप्त गर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौँ,’ खल्तीका निर्देशक अरविन्द साहले भने ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार