भर्जिन मिडियाद्वारा टेलिभिजन नेटवर्कलाई वास्तविक समयमा निगरानी गर्न आफ्नै एआई रोबोट विकास

  • Technology Khabar | ७ श्रावण २०८३, बिहीबार
भर्जिन मिडियाद्वारा टेलिभिजन नेटवर्कलाई वास्तविक समयमा निगरानी गर्न आफ्नै एआई रोबोट विकास

काठमाडौं ।

भर्जिन मिडिया ओटू (भीएमओटू) ले आफ्नो टेलिभिजन नेटवर्कलाई वास्तविक समयमा निगरानी गर्न आफ्नै एआई रोबोट विकास गरेको छ। यसले समस्या छिटो पत्ता लगाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यी एआई रोबोटहरूले ग्राहकले अनुभव गर्ने तरिकामै टिभी सेवा निगरानी गर्छन्। यसले भिडियो वा अडियो गुणस्तरमा आएको गिरावटजस्ता सेवा सम्बन्धी समस्या स्वचालित रूपमा निरन्तर जाँच गर्छ।

यदि एआई रोबोटले कुनै समस्या फेला पार्यो भने त्यसको सूचना स्वचालित रूपमा मानव निगरानी टोलीलाई पठाइन्छ। यसले सेवा प्रभावित गर्ने समस्याहरू पहिलेभन्दा छिटो र बढी सटीकताका साथ पहिचान, अनुसन्धान र समाधान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

टेलिकम्स डटकमका अनुसार सबैभन्दा धेरै हेरिने टिभी च्यानलहरू प्रत्येक छ मिनेटमा जाँच गरिन्छ। कुल २२० भन्दा बढी आईपीटीभी च्यानलहरूको निगरानी गरेर ग्राहकको अनुभवबारे थप जानकारी प्राप्त गर्ने प्रयास गरिएको छ।

भर्जिन मिडिया ओटूकी प्रमुख प्रविधि अधिकृत जिनी योर्कले नयाँ टिभी रोबोटका कारण सेवा सम्बन्धी समस्या पहिलेभन्दा छिटो र बढी सटीकताका साथ पहिचान तथा समाधान गर्न सकिने बताइन्। उनका अनुसार केही अवस्थामा ग्राहकले समस्या महसुस गर्नुअघि नै त्यसको समाधान गर्न सकिनेछ।

उनले ग्राहकले प्रत्यक्ष खेलकुद, मनपर्ने चलचित्र वा टिभी कार्यक्रम हेर्दा भरपर्दो टिभी सेवा आवश्यक हुने भन्दै नयाँ प्रविधिले ग्राहकलाई अझ राम्रो अनुभव दिन र अपेक्षित भरपर्दो सेवा सुनिश्चित गर्न सहयोग गर्ने बताइन्।

टिभी सेवा गुणस्तर निगरानीबाहेक कम्पनीले भविष्यमा एआई प्रयोग गरेर अन्य प्रकारका सेवा समस्याहरू पनि पहिचान गर्ने र निगरानी क्षमता अझ सुदृढ बनाउने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ।

भीएम ओटूले यस वर्ष आफ्ना विभिन्न सञ्चालन प्रक्रियामा एआई प्रयोग विस्तार गरिरहेको छ। जनवरीमा कम्पनीले ‘लुमी’ नामक एआई प्रणाली सार्वजनिक गरेको थियो, जसले ग्राहक सेवा फोन कलमा सहयोग गर्छ।

कम्पनीका अनुसार यसले गत वर्ष १३ लाख कल स्थानान्तरण घटाउन मद्दत गरेको थियो। उक्त प्रणालीले ग्राहक सेवा कलहरू वास्तविक समयमा सुनेर समान विषयका लाखौं अघिल्ला वार्तालापको विश्लेषणका आधारमा कर्मचारीलाई सुझाव दिन्छ।

फेब्रुअरीमा कम्पनीले जिङ्कवर्क्ससँग सहकार्य गरी मोबाइल नेटवर्कमा डाउनटाइम कम गर्न एआई आधारित स्वचालन प्रणाली लागू गर्ने घोषणा गरेको थियो। यसअन्तर्गत नेटवर्क समस्या हुने सम्भावना पहिले नै अनुमान गरेर रोकथाम गर्ने एआई निगरानी उपकरण प्रयोग गरिएको थियो, जुन स्थिर ब्रडब्यान्ड नेटवर्कमा दुई वर्षको अनुभवमा आधारित थियो।

मार्चमा कम्पनीले एआई प्रयोग गरेर ओटूका ग्राहकलाई आएका १ अर्बभन्दा बढी शंकास्पद ठगी र स्पाम कलमा लेबल लगाएको जनाएको थियो। ‘कल डिफेन्स’ नामक यो प्रणाली भ्वाइस समाधान कम्पनी हियासँगको सहकार्यमा विकास गरिएको हो।

ग्राहकलाई अपरिचित नम्बरबाट फोन आउँदा ‘कल डिफेन्स’ ले ‘एडाप्टिभ एआई’ प्रयोग गरेर उक्त नम्बरको व्यवहार विश्लेषण गर्छ र त्यो ठगी वा स्पाम हुन सक्ने सम्भावना मूल्याङ्कन गर्छ। यदि शंकास्पद ठहरिएमा ग्राहकको फोनको स्क्रिनमा चेतावनी लेबल देखाइन्छ र पहिचान भएका ठगी कलहरू स्वतः अवरुद्ध पनि गरिन्छ।

प्रकाशित: ७ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार