टेलिकम कम्पनीलाई सिक्सजीतर्फ सहज रूपमा लैजाने लक्ष्य राख्दै नोकियाको नयाँ एआई-आरएएन प्लेटफर्म

  • Technology Khabar | १ श्रावण २०८३, शुक्रबार
टेलिकम कम्पनीलाई सिक्सजीतर्फ सहज रूपमा लैजाने लक्ष्य राख्दै नोकियाको नयाँ एआई-आरएएन प्लेटफर्म

काठमाडौं ।

नोकियाको नयाँ एआई-आरएएन प्लेटफर्मले टेलिकम कम्पनीलाई सिक्सजीतर्फ सहज रूपमा लैजाने लक्ष्य राखेको छ।

टेलिकम कम्पनीहरू महँगो हार्डवेयर नवीकरण गर्न अनिच्छुक रहेको अवस्थालाई ध्यानमा राख्दै नोकियाले नयाँ एआई आरएएनप्लेटफर्म सार्वजनिक गरेको छ। यसले कम्पनीहरूलाई अहिलेको स्पेक्ट्रम र नेटवर्क पूर्वाधारलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्ने कम्पनीको दावी छ।

विभिन्न प्रकारका नेटवर्कमा प्रयोग गर्न मिल्ने यो प्लेटफर्मले एनभिडियाका जीपीयूमा आधारित एआई वर्कलोडमार्फत स्पेक्ट्रमको उपयोग दक्षतामा उल्लेखनीय सुधार ल्याउने बताइएको छ।

नोकियाका अनुसार यो प्लेटफर्मले अहिले नै २० प्रतिशतसम्म दक्षता वृद्धि गर्न सक्छ। कम्पनीले सन् २०२७ सम्म ५० प्रतिशत र २०२८ सम्म १०० प्रतिशतभन्दा बढी सुधार हासिल गर्ने लक्ष्य राखेको छ।

टेकक्रञ्चका अनुसार हाल नोकियाको एयरस्केल प्रयोग गरिरहेका ग्राहकहरूले आफ्नो नेटवर्कमा प्लग-इन विस्तार कार्डमार्फत एआई आरएएनप्लेटफर्म थप्न सक्नेछन्। यो ओपन आरएएन मापदण्डअनुसार भएकाले अन्य कम्पनीका हार्डवेयरसँग पनि सञ्चालन गर्न सकिन्छ।

थप लचकता चाहने अपरेटरहरूले यसलाई छुट्टै एआई आरएएननोडका रूपमा पनि प्रयोग गर्न सक्नेछन्। यसले फोरजी, फाइभजी र भविष्यमा सिक्सजी नेटवर्कमा एआई वर्कलोड सञ्चालन गर्न सक्नेछ। यसलाई एकल युनिट, क्लस्टर वा नोकियाको एयरस्केल आरएएन समाधानसँग एउटै तार्किक बेस स्टेसनका रूपमा प्रयोग गर्न सकिन्छ।

नोकियाले एआई आरएएनप्लेटफर्मलाई व्यावसायिक रूपमा उपलब्ध सर्भर समाधानका रूपमा पनि ल्याएको छ, जसलाई क्लाउड-नेटिभ नेटवर्कमा पनि प्रयोग गर्न सकिनेछ।

यो प्लेटफर्म प्रयोग गरेपछि अपरेटरहरूले सदस्यतामार्फत एआई सफ्टवेयर समाधान खरिद गर्न सक्नेछन्। नयाँ सुविधा उपलब्ध हुँदा प्रत्येक पटक हार्डवेयर परिवर्तन गर्नुपर्ने आवश्यकता रहने छैन।

बजार अनुसन्धान संस्था ओम्डियाका मोबाइल पूर्वाधार अभ्यास प्रमुख रेमी पास्कलले नोकियाको एआई आरएएनसार्वजनिक हुनु उद्योगको अवधारणाबाट व्यावसायिक प्रयोगतर्फको महत्वपूर्ण कदम भएको बताए।

उनका अनुसार नयाँ एआई आरएएननोड, एयरस्केल क्षमता विस्तार युनिट र क्लाउड-नेटिभ विकल्पले अपरेटरलाई आफ्नो पूर्वाधार र रूपान्तरण योजनाअनुसार एआई-आधारित नेटवर्क अपनाउने व्यावहारिक विकल्प प्रदान गर्छ।

उनका अनुसार एआईद्वारा तीव्र बनाइएको कम्प्युटिङ, सफ्टवेयर-आधारित संरचना र स्पष्ट उत्पादन योजनालाई संयोजन गरेर नोकियाले नेटवर्क क्षमता बढाउन, सञ्चालन लागत सुधार गर्न र एआई -आधारित आरएएन तर्फको संक्रमणलाई तीव्र बनाउन सहयोग गरिरहेको छ।

एनभिडियाका लागि एआई आरएएनटेलिकम क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ, किनकि कम्पनीले भर्चुअल आरएएन (भीआरएएन) बजारमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले टेलिकम उद्योग एआई युगमा प्रवेश गरिरहेको र रेडियो एक्सेस नेटवर्क अब एआई पूर्वाधारको अर्को चरण बन्ने बताए। उनका अनुसार नोकियासँगको सहकार्यमा सीयूडीए र एआईलाई बेसब्यान्डमा ल्याएर आरएएनलाई विश्वव्यापी स्तरको एआई कम्प्युटरमा रूपान्तरण गरिनेछ।

यसले अहिलेको स्पेक्ट्रमबाट बढी क्षमता र दक्षता निकाल्दै नयाँ एआई सेवा तथा सिक्सजी युगको आधार तयार गर्ने उनको भनाइ छ।

टेलिकम अपरेटरहरूले सफ्टवेयरमार्फत सहज रूपमा सिक्सजीमा स्तरोन्नति गर्न रुचि देखाइरहेकाले आरएएन हार्डवेयरको बिक्रीमा असर पर्न सक्ने देखिएको छ।

यस्तो अवस्थामा बजारको बदलिँदो आवश्यकताअनुसार नोकियाले व्यावहारिक रणनीति अपनाएको विश्लेषण गरिएको छ। यसले आरएएन हार्डवेयर नवीकरणमा हुने ढिलाइको असर पूर्ण रूपमा हटाउन नसके पनि अर्को नवीकरण चक्रसम्म बजारलाई सक्रिय राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

नोकियाले आफ्नो एआई आरएएनप्लेटफर्मले हजारौं एन्टेना परिवर्तन नगरी वा नयाँ स्पेक्ट्रममा अर्बौं खर्च नगरी भविष्यमा आउने सिक्सजीका क्षमताहरू प्रयोग गर्न सकिने बताएको छ।

सिक्सजीका लागि फेरि ठूलो हार्डवेयर नवीकरण गर्नुपर्ने अवधारणाप्रति उद्योगमा विरोध भइरहेका बेला कम लागतमा बढी ब्यान्डविथ उपलब्ध गराउने यस्तो प्लेटफर्मलाई सकारात्मक रूपमा हेरिएको छ।

नोकियाका प्रमुख कार्यकारी अधिकृत जस्टिन होटार्डले एआई आरएएनरेडियो क्षेत्रमा दशकौंयताकै सबैभन्दा ठूलो नवप्रवर्तन भएको बताए। उनका अनुसार यसले नेटवर्कलाई अझ बुद्धिमान बनाउने, एआईलाई भौतिक संसारसँग जोड्ने र सफ्टवेयरमार्फत ६जीमा स्तरोन्नति गर्न सकिने बाटो खोल्नेछ।

उनले एनभिडियाको एरियल एआई आरएएनप्लेटफर्ममा आधारित नोकियाको एनीआरएएन सफ्टवेयरले अपरेटरहरूसँग रहेको स्पेक्ट्रमबाट अझ राम्रो प्रदर्शन निकाल्न सक्ने र अहिले प्रयोग भइरहेका नोकिया वा ओपनआरएएन मापदण्डअनुसारका रेडियो युनिटसँग पनि सञ्चालन गर्न सकिने बताए। यसले अपरेटरलाई राम्रो प्रदर्शन, बढी प्रतिफल र नयाँ सेवा छिटो उपलब्ध गराउन सहयोग गर्ने उनको भनाइ छ।

प्रकाशित: १ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×