आकर्षक विज्ञापनमार्फत प्रलोभन देखाई अनलाइन ठगी र अवैध क्रिप्टो कारोबार गर्ने पाँच जना पक्राऊ

  • Technology Khabar | २९ असार २०८३, सोमबार
आकर्षक विज्ञापनमार्फत प्रलोभन देखाई अनलाइन ठगी र अवैध क्रिप्टो कारोबार गर्ने पाँच जना पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकमा आकर्षक रोजगारीको विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई प्रलोभनमा पार्दै अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशका एमडी जुबायर अहमेद (२५), एमडी नुर आलम (२६), एमडी नासिम मिया (२४) र एमडी रानी कमाल (२७) रहेका छन्।

साइबर ब्यूरोका अनुसार फेसबुकमा “कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने” भन्दै भ्रामक विज्ञापन प्रकाशित गरिएको थियो। त्यसपछि सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरिएको भन्दै ब्यूरोमा उजुरी परेको थियो।

उक्त घटनाको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा संलग्न देखिएका पाँच जनालाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बंगलादेश जान लागेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीसँगै बाइनान्स प्लेटफर्ममार्फत क्रिप्टो तथा यूएसडीटी कारोबारमा समेत संलग्न रहेको खुलेको छ।

उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार