बृहत् डाटा माइग्रेसन गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा, अत्यावश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन विभागको आग्रह

  • Technology Khabar | २९ असार २०८३, सोमबार
बृहत् डाटा माइग्रेसन गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा, अत्यावश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन विभागको आग्रह

काठमाडौं ।

राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डाटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै असार २१ गतेदेखि नयाँ प्रणालीमार्फत सेवा सञ्चालन सुरु गरिएको जानकारी दिएको हो।

विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। यससँगै राहदानी सेवा थप आधुनिक, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको विभागको भनाइ छ।

विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनपछि प्रारम्भिक दिनमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक रहेको जनाएको छ। यस्ता सम्भावित समस्यालाई ध्यानमा राख्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विज्ञहरू चौबीसै घण्टा स्ट्यान्डबाइमा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको पनि विज्ञप्तिमा उल्लेख छ।

विभागले देखिएका समस्या शीघ्र तथा दीर्घकालीन रूपमा समाधान गर्न आफू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विश्वास व्यक्त गरेको छ।

नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। यसबाट प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको अपेक्षा छ।

साथै राहदानी सेवासम्बन्धी कुनै पनि सूचना विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन विभागले सबै सेवाग्राहीसँग आग्रह गरेको छ।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार